काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख तथा हैरानी दिएको आरोपमा १० जनालाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले कोटेश्वर र जडिबुटी क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
सर्वसाधरणले बस काउन्टरका कर्मचारी, चालक, सहचालकले अनावश्यक सास्ती दिने गरेको गुनासो गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरील जनाएको छ । उनीहरूले यात्रु तानातान गर्ने र झोला खोस्ने जस्ता अमर्यादित कार्य गरेको पाइएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा धनुषाका ४० वर्षीय सूर्यबहादुर देवकोटा, दोलखाका ३२ वर्षीय प्रकाश शिवाकोटी, भक्तपुरका ५५ वर्षीय हरिभजन थापा, दोलखाका ३८ वर्षीय डिल्लीप्रसाद लामिछाने, सिन्धुपाल्चोकका २८ वर्षीय सुरेश तामाङ रहेका छन् ।
त्यस्तै, सिन्धुलीका २७ वर्षीय तिलककुमार थापा, दोलखाका २६ वर्षीय खड्कबहादुर तामाङ, सिन्धुलीका ३६ वर्षीय डोरकुमार श्रेष्ठ, ओखलढुङ्गाका ४५ वर्षीय नन्दलाल बुढाथोकी र सिन्धुपाल्चोकका ३६ वर्षीय राजेश सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान तथा थप कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको छ ।


