काठमाडौं । ट्राफिक प्रहरीहरूले अब ड्युटीमा रहेको बेला सवारी चालक तथा सेवाग्राहीसँग हात मिलाउन नपाउने भएका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंगलबार मातहतका कार्यालयहरू (ट्राफिक प्रहरी परिसर, वृत्त, प्रभाग र पोष्ट)लाई सर्कुलर पठाउँदै यस्तो निर्देशन दिएको हो ।
कार्यालयले ट्राफिक प्रहरीले चेकिङ लगायत अन्य ड्युटीको समयमा सवारी चालक र अन्य सेवाग्राहीसँग हात मिलाएका दृश्यहरूबारे समाजिक संजाल तथा नागरिक तहबाट गुनासो आएको भन्दै अब उप्रन्त त्यस्तो कार्य नर्गन भनेको हो ।ट्राफिक र चालक, सेवाग्राहीले हात मिलाउँदा सेटिङ गरेर घुस लिएको भन्दै गलत प्रचार समेत हुँदै आएको छ ।
अब उप्रान्त कुनै पनि ट्राफिक प्रहरीले ड्युटीमा रहेको बेला सवारी चालक, सेवाग्राहीसँग हात मिलाउने कार्य पूर्णरूपमा त्याग्नुपर्ने सर्कुलरमा उल्लेख छ । कार्यालयले हात मिलाउनुको सट्टा चालक वा सेवाग्राहीलाई टाढैबाट नमस्कार मात्र गरी सम्मान गर्नु निर्देशन दिइएको छ ।


