झण्डै ९ करोड मूल्यको ईभी ‘सोल्ड आउट’

काठमाडौं । सुन्दा धेरैलाई अचम्म लाग्छ । युरोपियन कार निर्माताले चीनमा झण्डै ९ करोड नेपाली रुपैयाँ कार सार्वजनिक गरेको केही मिनेटमै सोल्ड आउट भएको हो ।

इटालियन सुपरकार निर्माता फेरारीको पहिलो पूर्ण विद्युतीय सेडान कार ‘लुस’ चीनमा सोल्ड आउट भएको बिक्रेताले जनाएको छ । कम्पनीले ५ लाख ८६ हजार ६०० अमेरिकी डलर मूल्य राखेर बिक्री थालेको लुस मोडल चीनको लागि ८८ युनिट मात्रै छुट्टाइएको थियो ।

चीनका कार निर्माता बीवाइडी याङवाङ यू९ र पाइपटेक एसएसआर जस्ता सुपरभन्दा प्रदर्शनमा कमजोर मानिएको फेरारीको पहिलो ईभी सोल्ड आउट हुनुलाई कम्पनीले राम्रो मानेको छ । रोचक कुरा के छ भने फेरारीले लुस सेडान कारलाई युरोपमाभन्दा ७ प्रतिशत कम मूल्य तोकेर बिक्री थालेको हो ।

युरोपमा लुचेको मूल्य ६ लाख २६ हजार अमेरिकी डलर छ । फेरारीले लुसमा १२२ किलोवाट आवरको विशाल साइजको ब्याट्री दिएको छ । उक्त ब्याट्रीसँग ७७२ किलोवाट क्षमताको अल ह्वील मोटर प्रयोग गरिएको छ ।

चीनमा बीवाइडी याङवाङभन्दा दोब्बर बढी मूल्य भएको लुस सेडानका बारेमा विभिन्न कोणबाट बहस र चर्चा भइरहेको छ । धेरैले १ प्रतिशत धनाढ्य बर्गको लागि फेरारी प्रमुख छनोट भएको चिनियाँ मिडियाले उल्लेख गरेका छन् ।

चिनियाँ सञ्चारमाध्यमहरूले लुसलाई ‘४० लाख युआनमा कुद्ने प्रतिष्ठा’ का रूपमा व्याख्या गरेका छन्। अर्थात्, यो कारले यसको मालिक चीनको सबैभन्दा धनी १ प्रतिशत वर्गमा पर्ने संकेत दिन्छ।

चिनियाँ ईभीहरूले कम मूल्यमा उत्कृष्ट प्रविधि र उच्च प्रदर्शन दिइरहेका छन् । तर, फेरारीजस्ता ब्रान्डले बिक्री गर्ने मुख्य कुरा केवल स्पेसिफिकेसन होइन, ब्रान्डको विरासत, भावनात्मक आकर्षण र विशिष्ट अनुभव हो। यही कारण अत्यन्त महँगा भए पनि यस्ता मोडलहरूको माग निरन्तर रहेको देखिन्छ।


Back_to_top