स्वरूप बदल्दै हिरो जुम १२५, अब एड्भेन्चरमा आउँदै

काठमाडौं । हिरो मोटोकर्पले जुम १२५ स्कुटरलाई अब एड्भेन्चर सेग्मेन्टमा ल्याउने भएको छ । हिरोले आफ्नो प्रिमियम उत्पादन विस्तार गर्ने रणनीति अन्तर्गत नयाँ जुम १२५ एड्भेन्चर स्कुटरको पेटेन्ट डिजाइन दर्ता गरेको हो ।

कम्पनीले जुम स्कुटरलाई एड्भेन्चर शैलीको आकर्षक तथा रग्ड डिजाइनमा ल्याउने तयारी गरिरहेको हालै सार्वजनिक भएको पेटेन्ट इमेजले संकेत दिएको छ ।

हिरोले जुम १२५ एडीभी कन्सेप्ट इक्मा अटोशो २०२४ मा पहिलो पटक देखाएको थियो । हाल सोही कन्सेप्टलाई नै उत्पादन मोडलका लागि पेटेन्ट फाइल गराएको हो ।

जुम १२५ एडीभी स्कुटर एड्भेन्चर मोटरसाइकल डिजाइनबाट प्रेरित छ । जसले साधारण जुम १२५ भन्दा निकै फरक र आकर्षक डिजाइन बनाउँछ ।

पेटेन्टमा देखिएको जुम १२५ एडीभीमा अगाडिको भागमा क्रयास गार्ड, एड्भेन्चर शैलीको बीक, डर्ट टायर, अलोय ह्वील, अतिरिक्त बडी क्ल्याडिङ, नकल गार्ड, फग लाइट दिइएको छ । यसले स्कुटरलाई डकार र्यालीमा प्रयोग हुने अफरोड मोटरसाइकल जस्तै स्वरूप प्रदान गर्छ ।

यसको इन्जिन सेटअप भने पुरानै जुम बराबरको हुन सक्ने अनुमान छ । जुममा १२४ सीसीको सिंगल सिलिण्डर, एयर कुल्ड, एफआई इन्जिन रहेको छ । यो इन्जिनले अधिकतम १० पीएस पावर तथा १०.४ एनएमको टर्क जेनेरेट गर्छ ।

स्कुटरमा एलईडी लाइट सेटअप, डिजिटल क्लस्टर, कनेक्ट सिस्टम, नेभिगेसन, ट्राभल सस्पेन्सन सेटअप, डिस्क ब्रेक लगायतका फिचरहरू हुने छन् ।

हिरो मोटोकर्पले जुम १२५ लाई एड्भेन्चर सेग्मेन्टमा प्रस्तुत गरेर युवापुस्तालाई लक्षित गर्न खोजेको देखिन्छ । कम्पनीले आधिकारिक रूपमा लन्च मिति घोषणा नगरे पनि डिजाइन पेटेन्ट सार्वजनिक भइसकेकाले यो स्कुटर निकट भविष्यमा बजारमा आउने अपेक्षा गर्न सकिन्छ ।


Back_to_top