काठमाडौं । सन् २०२६ को सुरुवातदेखि ओरालो लागेको चिनियाँ अटो कम्पनीहरुको व्यापारमा सुधार देखिएको छ । अप्रिलसम्म लगातार घटेको चिनियाँ अटो बजारमा मेदेखि क्रमशः सुधार देखिन थालेको हो ।
तीव्र प्रतिस्पर्धा र सरकारी नीतिका कारण सुस्ताएको चिनियाँ अटो बजार जुन महिनामा पनि सुधारोनमुख देखिएको हो । बुधाबार सार्वजनिक तथ्यांक अनुसार सन् २०२६ जुनमा मुख्य ब्राण्डहरुको बिक्रीमा वृद्धि भएको छ । केही ब्राण्डको बिक्री भने अझै घट्दो क्रममै छ ।
नियो इन्क, एक्सपेङ, लीपमोटर जस्ता कम्पनीले बिक्रीमा अहिलेसम्मकै धेरै बिक्रीको रेकर्ड बनाउन सफल भएका छन् । यद्यपि, लि अटो र हुवावेको हिमा हार्मोनी इन्टेलिजेन्ट मोबिलिटी एलायन्सको बिक्रीमा भने गिरावट आएको छ ।
यस्तो छ जुन महिनामा मुख्य ब्राण्डको बिक्री
बीवाइडी : लगातार दोस्रो महिना बिक्रीमा सुधार आएको छ । बीवाइडीले जुनमा सर्वाधिक ४ लाख ३ हजार ४७२ एनईभीको थोक बिक्री गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५.४६ प्रतिशतले बढी हो । यो मे महिनाको तुलनामा पनि ०.२६ प्रतिशत वृद्धि हो । कम्पनीले मे महिनामा ३ लाख ८३ हजार ४५३ युनिट बिक्री गरेको थियो ।
जुनमा बीवाइडीले ब्याट्री इलेक्ट्रीक भेहिकल बिक्री २ लाख १ हजार ४७२ युनिट र प्लग इन हाइब्रिड इलेक्ट्रीक भेहिकलको बिक्री १ लाख ९५ हजार ८२० युनिटमा पुगेको छ । बीवाइडीले यो वर्ष ६ महिनामा कुल १८ लाख ८ हजार ५११ युनिट बिक्री गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५.७२ प्रतिशत कम हो ।
एसएआइसी : एसएआइसीले जुनमा दाेस्राे धेरै ३ लाख ९४ हजार ७९८ युनिट गाडी डेलिभरी गरेको छ ।
लीपमोटर : लीपमोटरले जुन महिनामा विश्वभर ९३ हजार ३७६ सवारी साधनहरू डेलिभरी गरेको छ । यो गत वर्षको तुलनामा ९४.५१ प्रतिशत धेरै हो । यो संख्या मे महिनाको ८१ हजार ५६९ युनिटको तुलनामा १४.४७ प्रतिशतको वृद्धि हो ।
लीपमोटरले कुल ३ लाख ५६ हजार४८७ युनिट डेलिभरी गरेको छ । जुन गत वर्षको तुलनामा ६०.८२ प्रतिशत बढी हो । कम्पनीले दोस्रो त्रैमासिकमा २ लाख ४६ हजार ३३२ युनिट डेलिभरी गरेको छ । जुन गत वर्षको तुलनामा ८३.६८ प्रतिशत बढी हो । जुन महिनाको अन्त्यसम्ममा यसको विश्वव्यापी कुल डेलिभरी १५ लाख ५२ हजार ५९० युनिट पुगेको छ ।
युरोपियन ब्राण्ड स्टेलान्टिसको प्रवेशपछि अटोमेकरले आक्रामक उत्पादन विस्तार मार्फत आफ्नो वृद्धिलाई निरन्तरता दिइरहेको छ । यसले यो वर्ष १० लाख युनिट सवारी बिक्रीमो लक्ष्य राखेको छ ।
नियो : नियो इन्कले जुनमा ४० हजार ५९७ वटा सवारी साधनहरू डेलिभरी गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ६२.८८ प्रतिशत धेरै हो । जुन यो वर्षको मासिक बिक्रीमा रेकर्ड समेत हो । मे महिनाको तुलनामा ७.६७ प्रतिशत धेरै हो । यद्यपि, दोस्रो त्रैमासिकको डेलिभरी जम्मा १ लाख ७ हजार ६५८ युनिट रहेको छ । जुन मासिक लक्ष्यभन्दा कम हो ।
एक्सपेङ : एक्सपेङले जुन महिनामा ४० हजार १२६ सवारी साधनहरू डेलिभरी गरेको छ । यो २०२६ को अहिलेसम्मकै उच्च मासिक बिक्री हो । यससँगै एक्सपेङको लगातार पाँच महिनादेखिको गिरावट रोकिएको छ । एक्सपेङको बिक्री गत वर्षको तुलनामा १५.९३ प्रतिशत र यो वर्षको मे महिनाको तुलनामा २४.७८ प्रतिशतले बढेको छ ।
लि अटो : लि अटोले जुन महिनामा ३० हजार ८९५ सवारी साधनहरू डेलिभरी गरेको छ । यो गत वर्षको तुलनामा १४.८४ प्रतिशतले कम हो । यो संख्या मे महिनाको ३३ हजार ३५० युनिटको तुलनामा ७.३६ प्रतिशतले कम हो। कम्पनीले यो वर्ष दोस्रो त्रैमासिकमा कुल ९८ हजार ३३० युनिट गाडी बिक्री गरेको छ । कम्पनीले यो वर्षको ६ महिनामा कुल १ लाख ९३ हजार ४७२ युनिट डेलिभरी गरेको छ । जुन गत वर्षको तुलनामा ५.१३ प्रतिशत कम हो।
हुवावे हिमा : हुवावेको लगानी रहेको हिमाले जुन महिनामा ५० हजार ६२४ सवारी साधनहरू डेलिभरी गरेको छ । जुन गत वर्षको तुलनामा ३.७३ प्रतिशतले कम हो । कम्पनीको मे २०२५ यता पहिलो वार्षिक गिरावट हो । यद्यपि, यो संख्या अघिल्लो महिनाको तुलनामा ९.७६ प्रतिशत बढीहो । हिमाले पहिलो ६ महिनामा कुल २ लाख ४२ हजार २२९ युनिट डेलिभरी गरेको छ । जुन गत वर्षको तुलनामा १८. ७४ प्रतिशत बढी हो ।
जिकर : जिकरले जुनमा ३५ हजार १६९ सवारी साधनहरू डेलिभरी गरेको छ । जुन गत वर्षको तुलनामादोब्बरभन्दा धेरै अर्थात् १११ प्रतिशत बढी हो । मासिक बिक्रीमा पनि निरन्तर सुधार छ । मेको तुलनमा जुनमा बिक्री २.३ प्रतिशतले सुधार आएको हो । मेमा ३४ हजार ३७७ युनिटको गाडी बेचेको थियो ।
दीपल : चांगानको दीपल ब्राण्डले जुनमा ३३ हजार ६२५ वटा सवारीसाधन बिक्री गरेको छ । जुन गत वर्षको सोही अपधिको तुलनमा १२.५ प्रतिशतको वृद्धि हो । दीपलले लगातार चौथो महिनासम्म मासिक बिक्री ३० हजारभन्दा माथिको आँकडा पार गरेको छ ।
साओमी ईभी : साओमी ईभीले जुनमा ३० हजार युनिटभन्दा बढी गाडी डेलिभरी गरेको छ । कम्पनीले लगातार तेस्रो महिना ३० हजार माथिको आँकडा भेटेको हो । कम्पनीले सन् २०२६ मा साढे ५ लाख गाडी बिक्रीको लक्ष्य राखेको छ ।
भोयाह : भोयाहले जुनमा १४ हजार २२३ सवारी साधनहरू डेलिभरी गरेको छ । जुन गत वर्षको तुलनामा ४१.४८ प्रतिशतको वृद्धि र मे महिनाको तुलनामा ९.३८ प्रतिशत धेरै हो । कम्पनीले यो वर्षको ६ महिनामा ७६ हजार २६४ सवारी साधनहरू डेलिभरी गरेको छ । जुन गत वर्षको तुलनामा ३५.८८ प्रतिशतको वृद्धि हो ।


