काठमाडौं । नेपालमा हालै बिक्री सुरु भएको जीडब्लूएमको नयाँ इलेक्ट्रीक एसयूभी ओरा फाइभले ‘डिजाइन अफ द इयर’ अवार्ड जितेको छ ।
ओरा फाइभले प्रतिष्ठित २०२५ लण्डन डिजाइन अवाड्र्स अन्तर्गत प्रोडक्ट डिजाइन अटोमोबाइल्स/भेहिकल्स विधामा उक्त अवार्ड जितेको हो ।
यससँगै ओरा फाइभले आफ्नो विश्वस्तरीय डिजाइन उत्कृष्टतालाई पुनः प्रमाणित गरेको छ । यो सम्मानले ओरा फाइभको आकर्षक बाह्य स्वरूप मात्र होइन, अत्याधुनिक प्रविधि, प्रयोगकर्ता–केन्द्रित सोच तथा स्मार्ट गतिशीलताप्रतिको जीडब्लूएमको दृष्टिकोणलाई अन्तर्राष्ट्रिय स्तरमा थप स्थापित गरेको छ।
नेपालमा सार्वजनिक भएको छोटो अवधिमै ओरा फाइभले आफ्नो आकर्षक डिजाइन, आधुनिक प्रविधि, उच्च सुरक्षा मापदण्ड तथा प्रिमियम विशेषताका कारण अटोमोबाइल बजार र सामाजिक सञ्जालमा व्यापक चर्चा बटुल्न सफल भएको छ ।
नेपालका लागि जीडब्लूएमको आधिकारिब बिक्रेता भीजी इम्पेक्सले यसको सुरुआती मूल्य ४६ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।
ओरा फाइभको डिजाइन ब्रान्डको ‘क्याट फ्यामिली’ स्टाइलिङबाट प्रभावित छ। गोलाकार हेडलाइट, स्मूद बडी लाइन, सफा रियर प्रोफाइल र एसयूभी लुकले यसलाई परम्परागत एसयूभीभन्दा फरक पहिचान दिएको छ ।
४,४७१ एमएम लम्बाइ र २,७२० एमएम ह्वीलबेस भएको एसयूभी साइजका हिसाबले कम्प्याक्ट भए पनि रोड प्रेजेन्समा निकै परिपक्व देखिन्छ। यसमा २०० एमएम अग्लो ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ । जुन नेपाली सडकको लागि निकै उपयोगी हुनेछ ।
क्याबिन ओरा फाइभको बलियो पक्षमध्ये एक हो। यसमा १०.२५ इन्च डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, १४.६ इन्च फ्लोटिङ टचस्क्रीन, कफी ओएस इन्फोटेन्मेन्ट सिस्टम, वायरलेस चार्जिङ, प्यानोरामिक ग्लास रूफ र प्रिमियम फिनिससहितको लेआउट दिइएको छ।
सुरक्षाको हिसाबले पनि ओरा फाइभलाई बलियो बनाएको छ। यसमा अडाप्टिभ क्रुज कन्ट्रोल, अटो इमर्जेन्सी ब्रेकिङ, लेन किप असिस्ट, ब्लाइण्ड स्पट मनिटरिङ, रियर क्रस ट्राफिक अलर्ट, ट्राफिक साइन रिकग्निसन र ५४० डिग्री क्यामेरा जस्ता फिचर छन्। टप भेरियन्टमा लाइडारमा आधारित ड्राइभर असिस्ट सिस्टम (एडास) छ। ओरा फाइभमा ७ एयरब्याग, ९ स्पीकर, वेलकम सिट, भ्यान्टिलेटेड सिट, स्पेयर टायर र हिडन रियर वाइपर पनि पाउन सकिन्छ ।
पावर ट्रेनतर्फ, ओरा फाइभमा १०० किलोवाट क्षमताको मोटर छ । उक्त मोटरले २६० न्यूटन मिटर पीकटर्क जेनेरेट गर्छ । यसमा एलएफपी ब्याट्री प्याक प्रयोग गरिएको छ। ब्याट्री साइज ५८.३ किलोवाट आवरको छ । जसले सिंगल चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिन्छ ।
भीजी इम्पेक्सले चाँडै हाभाल जेलिङ म्याक्स ईभी र हाभाल एच ७ समेत नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ ।


