काठमाडौं । न्यू इनर्जी भेहिकलको बिक्रीमा बीवाइडीले आफ्नो अग्रता कायम राखेको छ । चिनियाँ कार निर्माता कम्पनीहरूले सार्वजनिक गरेको डेलिभरी तथ्यांक अनुसार बीवाइडीले जुन महिनामा ३ लाख ९७ हजार २९२ वटा न्यू इनजर्की प्यासेन्जर कार बिक्री गरेको हो ।
बीवाइडीपछि स्टेलान्टिसको लगानी रहेको लीपमोटर दोस्रो स्थानमा उक्लिएको छ। कम्पनीले जुनमा ९३ हजार ३७६ वटा गाडी ग्राहकलाई हस्तान्तरण गर्दै अहिलेसम्मकै उच्च मासिक बिक्री रेकर्ड बनाएको हो । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९५ प्रतिशत बढी हो ।
लीपमोटरले जनवरीदेखि जुनसम्म ३ लाख ५६ हजार ४८७ वटा गाडी बिक्री गरिसकेको छ । कम्पनीले सन् २०२६ मा १० लाख गाडी बिक्री गर्ने लक्ष्य राखेको छ ।
तेस्रो स्थानमा हुवावेको हार्मोनी इन्टेलिजेन्ट मोबिलिटी एलायन्स रहेको छ। आइटो, लक्सिड, स्टेलाटो, माएक्स्ट्रो र साइक ब्राण्ड समेटिएको हिमा नेटवर्कले जुनमा ५० हजार ६२४ वटा गाडी बिक्री गरेको हो । उक्त बिक्री मे महिनाको तुलनामा ९।७ प्रतिशत बढी हो । यस वर्षको पहिलो ६ महिनामा हिमाले २ लाख ४० हजारभन्दा बढी गाडी बिक्री गरिसकेको छ ।
जुन महिनामा नियो समूह चौथो स्थानमा रह्यो । कम्पनीले जुनमा ४० हजार ५९७ वटा गाडी ग्राहकलाई हस्तान्तरण गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ६२।९ प्रतिशतले बढी हो । यसमा नियो ब्राण्डका २१ हजार ९०८, अनभोका ११ हजार ७४३ र फायरफ्लाइका ६ हजार ९४६ वटा गाडी बिक्री भएका छन् । यी सबै मिलाउँदा नियोको बिक्री ४० हजार माथि पुगेको हो ।
सन् २०२६ को पहिलो छ महिनामा नियो समूहले १ लाख ९१ हजार १२३ वटा गाडी बिक्री गरेको छ । जुन वार्षिक रूपमा ६७।४ प्रतिशतको वृद्धि हो ।
एक्सपेङले जुनमा ४० हजार १२६ वटा गाडी बिक्री गर्दै १५।९ प्रतिशत वार्षिक वृद्धि हासिल गरेको छ । दोस्रो त्रैमासमा मात्रै कम्पनीले १ लाख ३ हजार २९५ वटा गाडी ग्राहकलाई हस्तान्तरण गरेको जनाएको छ ।
जिलीको प्रिमियम ब्राण्ड जिकरले जुनमा ३५ हजार १६९ वटा गाडी बिक्री गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १११ प्रतिशत बढी हो । जनवरीदेखि जुनसम्म जिकरको बिक्री १ लाख ७८ हजार ३७० युनिट पुगेको छ। कम्पनीको बिक्री वृद्धिमा जिकर एक्स प्लग–इन हाइब्रिड एसयूभीको ठूलो योगदान रहेको बताइएको छ।
जीएसीको हाइपटेक तथा आयोन ब्राण्डले संयुक्त रूपमा ३३ हजार ६८२ वटा गाडी बिक्री गरेका छन् । चांगानको दिपलले ३३ हजार ६२५ वटा गाडी बिक्री गर्दै लगातार चौथो महिनासम्म ३० हजारभन्दा बढी मासिक बिक्री कायम राखेको छ ।
यस्तै, ली अटोले जुनमा ३० हजार ८९५ वटा गाडी ग्राहकलाई हस्तान्तरण गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा १४।८ प्रतिशतले कम हो । कम्पनीको नयाँ ब्याट्री–इलेक्ट्रिक क्रसओभर आई सिक्स ले मात्रै १५ हजारभन्दा बढी बिक्री गर्दै उपभोक्ताको रुचि विस्तारै एक्सटेन्डेड रेन्ज ईभीबाट पूर्ण विद्युतीय गाडीतर्फ सर्दै गएको संकेत दिएको छ ।
साओमी अटोले पनि जुनमा ३० हजारभन्दा बढी गाडी बिक्री गरेको जनाएको छ । यद्यपि, कम्पनीले विस्तृत तथ्यांक सार्वजनिक गरेको छैन ।
यसैगरी, बीएआईसीको आर्कफक्सले २५ हजार ६४६ वटा गाडी बिक्री गर्दै २१९ प्रतिशतको वार्षिक वृद्धि हासिल गरेको छ । डोङफेङको वाइपाइ ब्राण्डले २३ हजार २३१ वटा गाडी ग्राहकलाई हस्तान्तरण गरेको छ ।
डोङफेङको प्रिमियम ब्राण्ड भोयाहले जुनमा १४ हजार २२३ वटा गाडी बिक्री गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ४१ प्रतिशत बढी हो । कम्पनीले यस वर्षको पहिलो छ महिनामा ७६ हजार २६४ वटा गाडी बिक्री गरेको जनाएको छ ।
त्यसैगरी रक्स मोटरले जुनमा २ हजार ५१२ वटा गाडी बिक्री गर्दै ९९।५ प्रतिशत वार्षिक वृद्धि हासिल गरेको छ।


