काठमाडौं । मलेसियाले विदेशमा उत्पादित विद्युतीय सवारी साधन (ईभी) आयातमा कडा नियम लागू गरेको छ ।
मलेसियाको लगानी, व्यापार र उद्योग मन्त्रालयले देशमा आयात गरिने कुनै पनि पूर्ण निर्मित (सीबीयू) ईभी आयातमा दुई कडा मापदण्ड लागू गरेको हो ।
मलेसियाले २०२६ जुलाई १ देखि लागू हुने गरी सीआइएफ मूल्य २ लाख रिंगिट (करिब ४९,१६० अमेरिकी डलर)भन्दा कम मूल्यका ईभी आयात गर्न पाइने छैन । त्यसमा थप अतिरिक्त करहरू, परिचालन लागतहरू र नाफाको मार्जिन जोड्दा ईभीको मूल्य अझ धेरै महँगो हुनेछ ।
त्यस्तै, १८० किलोवाटभन्दा कम क्षमताका मोटर भएका ईभी आयात गर्न पाइने छैन । मलेसिया सरकारले यसअघि सरकारले २०० किलोवाटको सीमा प्रस्ताव गरे पनि उद्योगसँगको छलफलपछि त्यसलाई घटाएर १८० किलोवाट कायम गरिएको हो।
मलेसियाको उद्योग मन्त्रालयले यो नीति स्थानीय अटोमोबाइल उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढाउने, विदेशी लगानी आकर्षित गर्ने, देशभित्रै एसेम्बल प्लाण्ट स्थापनमा प्रोत्साहन गर्न, र रोजगारी बढाउने उद्देश्यले लागू गरिएको जनाएको छ ।
मलेसियाको यी नयाँ नियमले अब सस्ता मूल्य र साना मोटर क्षमताका ईभी आयात गर्न कठि हुने भएको छ । यो नियमले मुख्यगरी चिनियाँ ब्राण्डहलाई ठूलो धक्का पुगेको छ । हाल चिनियाँ कम्पनीहरू बीवाइडी, जिकर, ओमोडा, लीपमोटर लगायतले मलेसियामा सस्ता मूल्यमा ईभी बिक्री गरिरहेका छन् । नयाँ नियमहरूले धेरै लोकप्रिय मोडलहरूलाई नयाँ आयातका लागि अयोग्य बनाएको छ ।
उदाहरणका लागि मलेसियामा बिवाइडीको हालको लाइनअपमा सातवटा मोडलहरू छन् । जसको सुरूवाती मूल्य २९ हजार ४०० डलरभन्दा कम छ । डल्फिन र इन्ट्री लेभल एटो ३ लगायत मोडलको मोटर १८० किलोवाटभन्दा कम छ । त्यस्तै, जिकर ७ एक्स र चेरी ओमोडा ई ५ लगायत मोडल पनि नयाँ मापदण्ड भित्र पर्दैनन् ।
मलेसियाको सडक यातायात विभागको तथ्यांक अनुसार सन् २०२५ मा मलेसियाको एनईभी बजारमा चिनियाँ ईभीको हिस्सा (जिली–स्वामित्वको प्रोटोन बाहेक) करिब ६० प्रतिशत छ ।
केही चिनियाँ अटोमेकरहरूले आयात प्रतिबन्धबाट जोगिन स्थानीय स्तरमै उत्पादन गर्ने विचार गरिरहेका थिए । तर, मलेसिया सरकारले २०२५ सेप्टेम्बर १ पछि स्वीकृत नयाँ उत्पादन परियोजनाहरूको लागि कडा सर्तहरू लगाएको छ ।
नयाँ कडा नियमको बाबजूद केही ब्राण्डले भने स्थानीय कम्पनीसँग साझेदारी गर्दै फाइदा उठाइरहेका छन् । लीपमोटरले स्टेलान्टिसको सुविधाहरूको उपयोग गर्दै गुरुन, केडाहको एउटा प्लाण्टमा आफ्नो सी १० मोडलको स्थानीय एसेम्बली सुरू गरेको छ । त्यसैगरी, एक्सपेङले स्थानीय निर्माता ईपीएमबीसँगको सहकार्यमा आफ्नो राइट ह्याड ड्राइभ जी सिक्स मोडलको उत्पादन सुरू गर्ने घोषणा गरेको छ ।
यो नयाँ नीतिले मलेसियन ब्राण्ड प्रोटोन, पेरुडोआ लगायतलाई भने फाइदा पुगने भएको छ । चिनियाँ ब्राण्ड जिलीको समेत लगानी रहेको प्रोटोनले हाल मलेसियामै प्रोटोन इमास फाइभ र इमास सेभेन प्योर ईभी उत्पादन गरिरहेको छ ।
प्रोटोनेको ईभी हाल नेपालम ासमेत बिक्री भइरहेको छ । जगदम्बा मोटर्सले इमास सेभेने बिक्री गरिरहेको छ भने इमास फाइभ चाँडै लन्च गर्दैछ ।


