काठमाडौं । विश्वका प्रमुख अटोमोबाइल समूहमध्ये एक स्टेलान्टिसले करिब तीन दशकअघि बन्द भएको अटोबियान्ची ब्राण्डलाई पुनः प्रयोग गर्ने भएको छ । कम्पनीले नयाँ ब्राण्डका रूपमा बजारमा यसलाई ल्याउन नभई नाममाथिको कानुनी स्वामित्व सुरक्षित राख्नु लागेको अनुमान छ ।
इटालीमा परीक्षणका क्रममा देखिएको फियाट पाण्डाको प्रोटोटाइपमा पछाडि ‘ट्रिब्यूट अटोबियान्ची’ लेखिएको ब्याज देखिएसँगै कम्पनीले ऐतिहासिक ब्राण्ड पुनः प्रयोग गर्न लागेको पुष्टि भएको हो ।
अटोबियान्ची सन् १९५५ मा बियान्ची, पिरेली र फियाटको संयुक्त लगानीमा स्थापना भएको ब्राण्ड हो । साना सहरमुखी कार उत्पादनका लागि परिचित यो ब्राण्डको ए-११२ मोडल सबैभन्दा सफल मानिन्छ। १९६९ देखि १९८६ सम्म उत्पादन भएको ए-११२ विश्वभर १२ लाखभन्दा बढी युनिट बिक्री भएको थियो । सन् १९९५ मा अटोबियान्ची बन्द भएको थियो।
यसपटक भने स्टेलान्टिसले अटोबियान्ची लाई छुट्टै ब्राण्डका रूपमा पुनर्जीवित नगरी फियाटको सबैभन्दा पुरानो उत्पादन मोडल पाण्डाको विशेष संस्करणमा यसको नाम प्रयोग गर्न लागेको हो ।
विशेष संस्करणमा नयाँ बम्पर ट्रिम, फरक डिजाइनका एलोय ह्वील, पुरानो अटोबियान्चीबाट प्रेरित बेज–ब्राउन बाहिरी रङ तथा रेट्रो शैलीको इन्टेरियर प्रयोग गरिने अनुमान गरिएको छ। यद्यपि, यसको मेकानिकल पक्षमा परिवर्तन हुने सम्भावना कम छ।
इटालीको ट्रेडमार्क कानुनमा कुनै ऐतिहासिक ब्राण्ड वा ट्रेडमार्कलाई लामो समयसम्म व्यावसायिक रूपमा प्रयोग नगरे कम्पनीले त्यसमाथिको कानुनी अधिकार गुमाउन सक्ने ब्यवस्था छ । त्यसैले उत्पादनमा रहेको कुनै मोडलमा अटोबियान्ची नाम प्रयोग गरेर स्टेलान्टिसले उक्त ब्रान्डमाथिको आफ्नो स्वामित्व कायम राख्न खोजेको विश्लेषण गरिएको छ ।


