स्पोर्ट्स बाइक खोज्नेलाई यामाहाले दिने भयो विकल्प, अर्को महिना नयाँ मोडल आउने

काठमाडौं । यामाहाले भारतमा नयाँ स्पोर्ट्स मोटरसाइकल उत्पादन थाल्ने भएको छ । भारतमा आर-२ मोडल आगामी अगष्ट २७ मा सार्वजनिक हुने लगभग निश्चित भएको हो ।

यामाहा इन्डियाले भारतीय मिडियालाई अगष्ट २७ तारिखमा नयाँ मोडल लन्च हुने जानकारी दिएको छ । आफ्नो आर१५ भन्दा माथि राखेर आर-२ बिक्री गर्ने तयारी भइरहेको मिडिया स्रोतले दावी गरेको छ ।

सार्वजनिक विवरणअनुसार आर-२ मा करिब २०० सीसी क्षमताको सिंगल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन प्रयोग हुने सम्भावना छ। यसले आर१५ भन्दा बढी शक्ति र टर्क प्रदान गर्ने र माइलेज पनि उस्तै रहने बताइएको छ।

अहिले बिक्री भइरहेको आर १५ मा १५५ सीसी क्षमताको लिक्विड कुल्ड सिंगल सिलिन्डर इन्जिन छ । यसले १८.४ पीएस पावर र १४.२ एनएम टर्क प्रदान गर्छ । नयाँ आर २ मा रहने इन्जिनको पावरका बिषयमा अहिलेसम्म आधिकारीक जानकारी बाहिर आएको छैन ।

यामाहाले आर२ लाई पूर्ण रूपमा भारतमै डिजाइन, विकास र उत्पादन गर्न लागेको हो । त्यसैले मूल्यका हिसाबले पनि नयाँ मोडल किफायती हुनेछ । यामाहाको भारतको चेन्नईमा रहेको प्लान्टमा उत्पादन हुने आर-२ भारतसँगै अन्तर्राष्ट्रिय बजारमा पनि निर्यात हुने बताइएको छ।

यामाहाले २ लाख १० हजार भारतीय रुपैयाँ हाराहारी मूल्य तोकेर बिक्री गर्ने अनुमान गरिएको नयाँ स्पोर्ट्स मोटरसाइकल नेपालको लागि पनि आकर्षक हुने देखिन्छ । नेपाल आउन भने यसलाई थप समय लाग्ने अनुमान गर्न सकिन्छ ।


Back_to_top