काठमाडौं । रोल्स रोयसले आफ्नो फ्ल्यागशिप लक्जरी सेडान फ्यान्टमको विशेष संस्करण ‘फ्यान्टम रेगाटा’ सार्वजनिक गरेको छ । इङ्ग्ल्यान्डको दक्षिणी तटीय क्षेत्रमा हुने परम्परागत याट प्रतियोगिताबाट प्रेरित यो कार एक युनिट मात्रै उत्पादन गरिएको छ ।
यसको मुख्य आकर्षण नै केबल एक युनिट उत्पादन हो । यो विशेष संस्करणलाई सन् २०२६ को गुडवुड मोटर उत्सवमा सार्वजनिक प्रदर्शन गरिने कम्पनीले जनाएको छ ।
कारको बाहिरी भागमा गाढा निलो र सेतो रङको संयोजन प्रयोग गरिएको छ । यसले समुद्रमा तैरिरहेको याटको झल्को दिन्छ। २२ इन्चको विशाल साइजको ह्वील प्रयोग भएको छ । यी चम्किला पाङ्ग्राले पनि रेसिङ याटमा प्रयोग हुने धातुका उपकरणको शैली झल्काउँछन् ।
भित्री सजावटमा अगाडिको भाग निलो र पछाडिको भाग सेतो रंगमा तयार गरिएको छ। ड्यासबोर्डभरि समुद्री दृश्यलाई हातैले चित्रण गरिएको विशेष काठको प्यानल राखिएको छ ।
छानामा १ हजार ३०७ वटा प्रकाशयुक्त बिन्दु जडान गरिएको छ । जसको डिजाइन समुद्री ज्वारभाटाबाट प्रेरित छ । याटको डेक शैलीका पिकनिक टेबल बनाउन मात्रै करिब १२० घण्टा लागेको कम्पनीले जनाएको छ ।

कारका हावाप्रवाह मार्गमा गुडवुड हाउस र रोल्स रोयसको मुख्यालयका भौगोलिक निर्देशाङ्क कुँदिएका छन् । कम्पनीका अनुसार यी विवरणले फ्यान्टम रेगाटाको उत्पत्ति र यसको विशेष पहिचानलाई झल्काउने उद्देश्य राख्छ ।


