काठमाडौं । भारतीय अटोमोबाइल कम्पनी महिन्द्राले आफ्नो बहुप्रतीक्षित इलेक्ट्रीक एसयूभी ‘बीई सेभेन’को सडक परीक्षण सुरू गरेको छ ।
कम्पनीले भारतको चेन्नई नजिकै महिन्द्राको ‘एसयूभी प्रुभिङ ट्रयाक’ बाहिर बीई सेभेन पूरै ढाकेर परीक्षण गरिरहेको तस्बिर बाहिर आएको हो ।
महिन्द्रा बीई सेभेन सडक परीक्षणमा देखिएसँगै यसले अटो बजारमा नयाँ हलचल ल्याउने अनुमान गरिएको छ । बीई सेभेन महिन्द्राको चौथो इलेक्ट्रीक एसयूभी हो । कम्पनीले यसअघि स्टाइलिस बीई सिक्स, अत्याधुनिक एक्सईभी नाइन ई र व्यावहारिक एक्सईभी नाइन एस बजारमा ल्याइसकेको छ ।
महिन्द्राले यसअघि कन्सेप्टमा बीई ०७ नाममा प्रदर्शन गरेको एसयूभीलाई नै अब बीई सेभेन भनेर ल्याउन लागेको हो । यसलाई बीई सिक्सभन्दा माथिल्लो श्रेणीमा राख्ने अपेक्षा गरिएको छ ।
परीक्षणको क्रममा देखिएको बीई सेभने बीई सिक्सभन्दा ठूलो हुने अपेक्षा छ । कन्सेप्टमा देखाइएको बीई ०७ को लम्बाइ ४,५६५ एमएम, चौडाइ १,९०० एमएम, उचाइ १,६६० एमएम र ह्वीलबेस २,७७५ एमएम रहेको थियो।

सार्वजनिक स्पाइ तस्बिर अनुसार महिन्द्राले बीई सेभेनलाई कन्सेप्ट कारको जस्तै पुरानै डिजाइन र बनोटलाई धेरै हदसम्म निरन्तरता दिएको छ । यसको बक्स जस्तो डिजाइन, बलियो सी पिलर र सीधा उठ्ने आवरणले गाडीलाई निकै मस्कुलर र शक्तिशाली लुक्स दिएको छ।
परीक्षणका क्रममा देखिएको गाडी हेर्दा महिन्द्राले यसमा प्रयोग गर्ने लाइटहरूको अन्तिम डिजाइन टुङ्गो लगाउन बाँकी रहेको बुझन सकिन्छ । अहिलेका लागि अस्थायी हेडलाइट र ब्याकलाइटहरू मात्र प्रयोग गरेको देखिन्छ ।
गाडीमा फ्लस पप अउट ह्याण्डल, साइड बडीमा आकर्षक रेखाहरू, ठूला ह्वील आर्च, करिब १९ इन्चको ठूला एलोय ह्वील, पछाडिको स्पोइलर नजिकै लुकाएर राखिएको वाइपर देख्न सकिन्छ ।
महिन्द्राले बीई सेभेनमा पहिलो पटक आफ्नो प्रोडक्ट लाइनअपमा फ्रेमलेस डार ह्याण्डल दिएको छ । यो फ्रेमलेस होर ह्याण्डल हुने भारतकै पहिलाे एसयूभी समेत हुनेछ । यस्ता ढोका हाल मर्सिडिज बेन्ज सीएलए र बीएमडब्लू २ सिरिजमा प्रयोग भएका छन् ।
बीई सेभेनको क्याबिन फाइटर जेटको ककपिट जस्तै आकर्षक हुन सक्ने अपेक्षा गरिएको छ । यसमा एक्सईभी गाडीहरूमा जस्तै १२.३ इन्चका तीनवटा स्क्रीनहरू रहने छन् । पूरै नयाँ ड्यासबोर्ड, फरक खालको ढोकाको भित्री डिजाइन र स्पोर्टी सिटहरू हुने अपेक्षा गरिएको छ। अहिले देखिएका गाडीमा एक्सईभी नाइन ईका सिटहरू प्रयोग गरिएको जस्तो देखिन्छ । जुन गाडी बजारमा आउँदा परिवर्तन हुन सक्छ ।
महिन्द्राले आफ्ना नयाँ पुस्ताका इलेक्ट्रीक गाडीहरू विश्वस्तरीय इंग्लो प्लेटफर्ममा निर्माण गरिरहेको छ । जसमा चर्चित बीवाइडी ब्लेड ब्याट्री प्रयोग हुने गर्छ ।
महिन्द्राले बीई सेभेनामा पनि बीई सिक्स, एक्सईभी नाइन ई र एक्सईभी नाइन एस जस्तै ५९ किलोवाट आवर र ७९ किलोवाट आवरका ब्याट्री अप्सन दिन सक्ने सम्भावना छ । जसले एकपटकको फुल चार्जमा ६०० किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको छ ।
कम्पनीले बीई सेभेन सार्वजनिक गर्ने आधिकारिक मिति घोषणा गरेको छैन । तर, यो गाडी आगामी अगस्ट १५ मा ग्लोबल लन्च हुने बलियो सम्भावना छ ।
आधुनिक लुक्स, प्रिमियम फिचर्स र बलियो रेन्जका कारण यो गाडी बजारमा आउना साथ निकै लोकप्रिय हुने अटो विज्ञहरूको अनुमान छ ।


