काठमाडौं । बजाज पल्सर १५० को नयाँ भर्सन नेपालमा बिक्री सुरू भएको छ । बजाज मोटरसाइकलको नेपाल लागि आधिकारिक बिक्रेता हंशराज हुलाशचन्द एण्ड कम्पनीले पल्सर १५० को एबीएससहितको बीएस ६ भर्सन बिक्री सुरू गरेको हो ।
कम्पनीले नयाँ अपडेटेड पल्सर १५० को डबल डिस्क भेरियन्टको मूल्य ३ लाख ८० हजार ९०० रुपैयाँ र सिंगल डिस्क भेरियन्टको ३ लाख ६७ हजार ९०० रुपैयाँ तोकेको छ । पल्सर १५० सिरिज नेपालमै सर्वाधिक बिक्री हुने मोटरसाइकल हो ।
नेपालमा उपलब्ध बजाज पल्सरको दुवै भेरियन्ट बीएस ६ मा उपलब्ध भएको कम्पनी बताएको छ । योसँगै बजाजको सबै मोडल बीएस ६ मा उपलब्ध भएको छ ।
बजाजले नेपाली बजारमा १०० सीसीदेखि ४०० सीसीसम्मका मोटरसाइकल बिक्री गर्दै आएको छ । पल्सर १५० बजाजको मात्र नभएर नेपालमै सबैभन्दा धेरै बिक्री हुने १५० सीसीको मोटरसाइकल हो ।
पल्सर १५० मा १४९ सीसी सिगंल सिलिण्डर एयर कुल्ड इन्जिन रहेको छ । उक्त इन्जिनले १३.८ बीएचपी पावर र १३.४ एनएम टर्क जेनेरेट गर्छ ।
५ स्पीड गियरबक्स जडान भएर आउने पल्सर १५० को टप स्पीड ११५ किलोमिटर प्रतिघण्टा रहेको छ । नयाँ मोटरसाइकलमा नयाँँ ग्राफिक्ससँगै नयाँ कलर अप्सन, डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल जस्ता फिचर थपिएको छ ।
यसमा पहिले जस्तै इन्धन ट्यांकी, क्लिप अन ह्याण्डलबार, स्प्लिट सिट, अलोय ह्वील र एग्जस्ट रहेको छ ।


