काठमाडौं । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आगामी साउन २६ गतेबाट काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ । आउँदै गरेका दशैं-तिहार-छठ जस्ता पर्वलाई मध्यनजर गर्दै गाडी बिक्रेताहरूले अटो शो आयोजना गर्दै आएका छन् ।
नेपालमा आयोजना हुने हरेक अटो शोमा नयाँ ब्राण्ड र नयाँ मोडल सार्वजनिक हुनुलाई सामान्य मानिन्छ । यस वर्षको नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक हुन लागेका दुई ब्राण्ड आरफक्स र चेरी क्यूक्यू बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
चिनियाँ कार उत्पादक चेरीको क्यूक्यू ब्राण्डमा क्यूक्यू थ्री क्रसओभर ह्याचब्याक कार नेपाल आउने छ भने आरफक्स ब्राण्डमा टी-वान नामक प्रिमियम ह्याचब्याक कार आउने छ । यी दुवै मोडल एकअर्काका कडा प्रतिस्पर्धी हुन् ।
चिनियाँ अटो रिभ्यूलाई आधार मान्ने हो भने क्यूक्यू थ्री भ्यालू फर मनी ह्याचब्याक कार हो । उही आरफक्स टी-वान प्रिमियम ह्याचब्याक कार सेग्मेन्टमा बिक्री हुन्छ । यस्तोमा यी दुई मोडल बीचको प्रतिस्पर्धा हाम्रो बजारमा निकै हेर्न लायक हुने अनुमान छ ।
यी दुवै मोडलमा छन् केही समानता
चीनमा दुवै मोडलको बिक्री ठिकठाक छ । एउटै सेग्मेन्टमा प्रतिस्पर्धा गरिरहेका यी दुई कारको मूल्य लगभग उस्तै रहने अनुमान छ । कम्प्याक्ट ईभी सेग्मेन्टमा यी दुई मोडल बीच कडा प्रतिस्पर्धा हुन्छ ।

दुवै कारमा लिथियम आयन फस्फेट (एलएफपी) ब्याट्री प्रयोग भएको छ । रेन्ज पनि लगभग दुवै ह्याचब्याकको समान जस्तै आउने छ । दुवै कार डीसी फास्ट चार्जर सपोर्ट गर्न सक्षम छन् ।
१५ इन्च माथिको स्क्रीन, एआई भ्वाइस असिस्टेन्स जस्ता स्मार्ट फिचर र युवा उपभोक्तामैत्री डिजाइन यी दुवै कारका विशेषता हुन् ।
साइजमा कति भिन्नता ?
सबैभन्दा ठूलो भिन्नता भनेकै बडी डिजाइनमा हो । आरफक्सको बडी ठूलो देखिन्छ । यसको लम्बाइ ४३३७ एमएम छ । जबकी चेरी क्यूक्यू थ्रीको लम्बाइ ४१९५ एमएम छ ।
चौडाइ र ह्वीलबेसमा पनि आरफक्स टी-वान अगाडि देखिन्छ । यसको चौडाइ १८६० एमएम र ह्वीलबेस २७७० एमएम छ । जबकी क्यूक्यू थ्रीको चौडाइ १८११ एमएम र ह्वीलबेस २७०० एमएम छ । उचाइमा भने १ एमएम बढी अग्लो क्यूक्यू थ्री छ ।

ब्याट्री र मोटरमा कति फरक ?
यी दुई ह्याचब्याक कारमा ब्याट्री र मोटर साइज पनि लगभग उस्तैछ । चीनमा ब्याट्री र मोटरमा थुप्रै अप्सन उपलब्ध छ । नेपालमा टप भेरियन्ट मात्रै आउने अनुमान गर्दा लगभग उत्रै ब्याट्रीमा यी कार आउने छन् ।
चेरी क्यूक्यू थ्रीमा ४१.३ किलोवाट आवरको ब्याट्री रहने छ । जबकी आरफक्स टी-वानमा पनि ४२ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ । मोटरमा क्यूक्यू थ्री ९० किलोवाट र आरफक्स टी-वान ९५ किलोवाटको मोटरमा आउने अनुमान छ ।
दुवै कारको नेपाली सडकमा रेन्ज ३०० किलोमिटरदेखि ३५० किलोमिटर आसपास रहने अनुमान गर्न सकिन्छ ।


