मुग्लिन-पोखरा सडकको म्याद चौथो पटक थप

फाइल तस्बिर

काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत पोखरा-मुग्लिन सडकको पश्चिम खण्ड (जामुने-पोखरा)को म्याद चौथो पटक थपिएको छ ।

यसअघि तीन पटक म्याद थप गर्दा समेत तोकिएको समयमा काम सम्पन्न नभएपछि चौथो पटक ५ महिना (२०८३ मंसिर १० गतेसम्म) म्याद थपिएको हो ।

मध्यपूर्वको युद्धका कारण पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या, निर्माण सामग्रीको मूल्यवृद्धि, चैत-वैशाखमा वर्षाका कारण काम प्रभावित हुनु लगायत कारण देखाउँदै म्याद थपिएको हो ।

मुग्लिन-पोखरा सडक योजना पश्चिम खण्डका योजना प्रमुख कृष्णबहादुर कुँवरले आयोजनाको ८२.३७ प्रतिशत मात्रै काम सम्पन्न भएकाले ५ महिना म्याद थपिएको जानकारी दिए ।

‘विभिन्न कारणले तेस्रो पटक थपिएको म्यादमा समेत काम सकिएन । हाल भौतिक प्रगति ८२ प्रतिशत पुगेको छ । निर्माण कम्पनीले थपिएको समयमै काम सक्ने प्रतिबद्धता जनाएको छ । अहिले थप गरिएको समय अन्तिम हो,’ उनले भने ।

३८.८८ किमीमध्ये मुख्य सडकको कालोपत्र सकिएको छ । अब करिब १० किलोमिटर सर्भिस लेन कालोपत्र गर्न बाँकी छ । पोखरा विश्वविद्यालय अगाडिको एकतर्फी कालोपत्र र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिक विद्युत्का पोल स्थानान्तरण हुन बाँकी रहेकाले त्यहाँ सर्भिस लेन निर्माण प्रभावित भएको आयोजनाले बताएको छ।

त्यस्तै, ट्राफिक सुरक्षा सम्बन्धी संरचना, सडक मार्किङ, थर्मोप्लास्टिक पेन्ट र ‘डब्लू बिम रोड सेफ्टी ब्यारियर’ जडान बाँकी छ ।

मुग्लिन-पोखरा पश्चिम खण्डको विसं २०७८ जेठ २ गते निर्माण सम्झौता भएर विसं २०७८ भदौ १२ गतेदेखि काम सुरू भएको थियो । यो खण्ड निर्माण गर्न चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनसँग ७ अर्ब ४० करोड रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो ।

विसं २०८१ भदौ १२ गतेसम्म म्याद रहेकामा त्यसअवधिमा उल्लेख्य प्रगति नभएपछि पहिलोपटक १०१ दिनका लागि म्याद थप भएको थियो । यसपछि दोस्रोपटक विसं २०८१ पुसमा एक वर्ष म्याद बढाइएको थियो भने तेस्रो पटक २०८३ असारसम्म थपिएको थियो ।

पर्यटकीय राजधानी पोखरालाई सङ्घीय राजधानी काठमाडौंसम्म जोड्ने यस राजमार्ग एशियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा चार वर्षदेखि स्तरोन्नतिको काम भइरहेको छ ।

यही सडकको पूर्वीखण्ड अन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको ४१।५ किलोमिटर खण्ड भने चार लेनमा स्तराेन्नति भई हस्तान्तरण समेत भइसकेको छ ।


Back_to_top