‘बेस भेरियन्ट’मै बलियो देखियो सिएरा ईभी, छिट्टै नेपाल आउने

काठमाडौं । भारतीय कार निर्माताहरुले आफ्नो विद्युतीय कारलाई थुप्रै भेरियन्टमा ल्याउन थालेका छन् । केही दिन अगाडि मात्रै टाटाले भारतमा सार्वजनिक गरेको सिएरा ईभी पनि बिभिन्न ५ भेरियन्टमा बिक्री थालिएको हो । प्योर, प्योर एस, एड्भेन्चर, इम्पावर्ड र इम्पावर्ड ए

धेरै भेरियन्ट बनाउनुको पछाडि मूल्यलाई ध्यानमा राखिएको हुन्छ । साइज एउटै भएपनि भेरियन्ट अनुसार फिचर लोड गर्ने चलन अटोमोबाइल क्षेत्रमा चल्दै आएको कुरा हो ।

टाटाले सिएरा ईभीको इन्ट्री भेरियन्टको नाम प्योर राखेको छ । प्योर भेरियन्टमा रहेका फिचरको विषयमा हामीले यहाँ चर्चा गरेका छौं ।

सिएरा प्योर भेरियन्टमा ६३ किलोवाट आवरको ब्याट्री छ । यसको रेन्ज ४४० किलोमिटर हाराहारी नेपाली सडकमै पनि आउने देखिन्छ । माथिल्ला भेरियन्टमा भने ठूलो ब्याट्री प्रयोग भएको छ ।

एसयूभीको अगाडिको डिजाइन सबै भेरियन्टमा उस्तै छ । अगाडि फुल एलईडी लाइटबार, प्रोजेक्टर एलईडी हेडल्याम्प, फ्लस टाइप डोर ह्याण्डल, सिग्नेचर सिएरा रियर क्वाटर ग्लास, १८ इन्चको ह्वील, रुफ स्पोइलर, शार्क फिन एन्टेना र अल्ट्रा गाइड सस्पेन्सन दिएको छ । पछाडिको सस्पेन्सन इन्डिपेन्डेन्ट हो । यसमा फ्रिक्वइन्सी डिपेन्डेन्ट डम्पीङ प्रविधि प्रयोग गरिएको कम्पनीले जनाएको छ ।

टाटा मोटर्सले यसको इन्ट्री भेरियन्टमा भ्वाइस असिस्टेड प्यानोरामिक सनरुफ प्रयोग गरेको छ । उच्च ग्राउन्ड क्लियरेन्स, बक्सी डिजाइन र आकर्षक लुकमा उपलब्ध एसयूभीको क्याविन पनि फिचर लोडेड नै देखिन्छ ।

एक्टी डट ईभी प्लेटफर्ममा बनेको सिएराको क्याबिन डुअल टोन थीममा बनेको छ । १२.३ इन्चको टचस्क्रिन इन्फोटेन्टमेन्ट सिस्टम, १०.२५ इन्चको इन्फर्मेशन डिस्प्ले, ८ स्पीकर, अटोमेटीक क्लाइमेट कन्ट्रोल, वायरलेस एन्ड्रोइड अटो, स्टेयरिङ माउन्टेड कन्ट्रोल, किलेस इन्ट्री जस्ता फिचर पाउन सकिन्छ ।

यसमा आइआरए डट ईभी कनेक्टेड कार सुइट दिइएको छ । यसमा ७० भन्दा बढी स्मार्ट कनेक्टेड फिचर छन् । फाइभ जी कनेक्टीभिटी उपलब्ध कारमा वायरलेस चार्जिङ, १५ वटा मल्टिमिडिया पाउन सकिन्छ ।

टाटाले सुरक्षा फिचरमा पनि सम्झौँता गरेको छैन । कम्पनीले ६ एयरब्याग, इलेक्ट्रोनिक्स स्टेबिलिटी प्रोग्राम भित्र १९ फिचर राखेको छ । सबै चक्कामा डिस ब्रेक प्रयोग भएको एसयूभीमा रियर पार्किङ सेन्सर, डाइनामिक गाइड लाइन सहितको रियर क्यामेरा पनि बेस भेरियन्टमै पाउन सकिन्छ ।

टाटाको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले आगामी नाडा अटो शो २०२६ सम्ममा यसलाई नेपाल ल्याउने सम्भावना देखिन्छ । भारतमा पनि बढ्दो ईभी क्रेजका कारण सप्लाईमा समस्या भएन भने सियरा आगामी चाडपर्वको समयमा नेपाली उपभोक्ताले खरिद गर्न पाउने छन् ।


Back_to_top