पावर र टेक फिचरमा अब्बल देखियो निसान टेकटन, नेपाल पनि आउँदै

काठमाडौं । निसानले भारतमा आफ्नो नयाँ मिडसाइज एसयूभी टेकटन सार्वजनिक गरेको छ । आगामी नाइमा मोबिलिटी एक्स्पोमा नेपाल आउने टेकटन जुलाई २० तारिखबाट भारतमा ग्राहकलाई हस्तान्तरण गर्ने कम्पनीले जनाएको छ ।

निसानले म्याग्नाइटभन्दा माथि राखेर ल्याएको टेकटन कम्पनीको सीएमएफबी प्लेटफर्ममा आधारित नयाँ एसयूभी हो । निसान पेट्रोल एसयूभीबाट प्रेरित डिजाइन भएका कारण यसले सार्वजनिक हुनुभन्दा अगाडि नै भारतमा चर्चा बटुलेको थियो ।

नयाँ टेकटन भारतको सबैभन्दा प्रतिस्पर्धी मिडसाइज एसयूभी सेग्मेन्टमा प्रवेश गरेको हो । जहाँ हुन्डाई क्रेटा, किया सेल्टोस, मारुती सुजुकी ग्राण्ड भिटारा, टोयोटा अर्बन क्रुजर हाइराइडर, होण्डा एलिभेट, फक्सवागन टाइगुन, स्कोडा कुशाक र एमजी एस्टर जस्ता मोडल प्रतिस्पर्धी छन् ।

जापानी कार निर्माताले टेकटनलाई दुईवटा टर्बो पेट्रोल इन्जिन विकल्पमा उपलब्ध गराएको छ। सानो इन्जिनले १०० पीएस पावर र १६६ एनएम टर्क उत्पादन गर्छ । यसमा ६-स्पिड म्यानुअल गियरबक्स दिइएको छ । कम्पनीका अनुसार यसको माइलेज १९.४ किलोमिटर प्रतिलिटर छ ।
यसमा रहेको ठूलो इन्जिनले १६३ पीएस पावर र २८० एनएम टर्क उत्पादन गर्छ । यो इन्जिन ६-स्पीड म्यानुअल र ६-स्पीड वेट डुअल क्लच अटोमेटिक गियरबक्समा उपलब्ध हुनेछ । अटोमेटिक भेरियन्टमा प्याडल सिफ्टर र स्टेयरिङ मोड चयन गर्ने सुविधा उपलब्ध छ ।

टेकटनमा सुरक्षालाई प्राथमिकता दिँदै सबै भेरियन्टमा ६ वटा एयरब्याग स्ट्याण्डर्ड रूपमा उपलब्ध गराइएको छ । यसका अतिरिक्त एडास लेभल टुमा पाइने फिचरहरू छन् । ब्रेक असिस्ट, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम, ट्र्याक्सन कन्ट्रोल, टायर प्रेसर मनिटरिङ सिस्टम, फ्रन्ट डिस्क ब्रेक, रोलओभर सेन्सर, हाइ टेन्साइल स्टिल सेफ्टी केज, साइड इम्प्याक्ट प्रोटेक्सन बीम तथा पैदलयात्री सुरक्षा प्रणाली जस्ता फिचर स्ट्याण्डर्ड रूपमा समावेश छन्।

क्याबिनमा डुअल स्क्रीन सेटअप छ । साथै, भेन्टिलेटेड फ्रन्ट सिट, डुअल-जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल, पावर एड्जस्टेबल फ्रन्ट सिट, एम्बियन्ट एलईडी लाइटिङ, हाइ सेन्टर कन्सोल, स्लाइडिङ स्टोरेज र उच्च सपोर्ट दिने सिट डिजाइन उपलब्ध छन् ।

निसानले टेकटनमा आफ्नो स्मार्टफोन एपमार्फत ५५ भन्दा बढी कनेक्टेड कार फिचर उपलब्ध गराएको छ । यसमा रिमोट इन्जिन स्टार्ट, एसी अन गर्ने सुविधा, रिमोट लकरअनलक, रिमोट लाइट तथा हर्न कन्ट्रोल, भेहिकल स्टाटस, फाइन्ड माई कार लगायतका सुविधा समावेस छन् ।


Back_to_top