काठमाडौं । सडक विस्तार गर्न निकै कठिन देखिएको चक्रपथ अन्तर्गत चाबहिल-गौशला खण्डमा भूमिगत सुरुङमार्ग निर्माण गर्न प्रस्ताव गरिएको छ ।
पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले तयार पारेको ‘काठमाडौं भ्याली अर्बन ट्रान्सपोर्ट सिस्टम मास्टर प्लान’मा यस्तो प्रस्ताव गरिएको हो ।
चक्रपथ विस्तार अन्तर्गत कोटेश्वर-कलंकी विस्तार भइसकेको छ । कलंकी-बसुन्धारा खण्डमा चाँडै चीन सरकारले काम सुरु गर्दैछ भने महाराजगंज-धोबीखोला (चप्पलकारखानासम्म ७०० मिटर बनिसकेको) खण्डको यही वर्ष ठेक्का लाग्दैछ । तर, चाबहिल-गौशला खण्डमा सडक विस्तार सम्भव नदेखिएपछि भूमिगत सुरुङ निर्माण गर्ने प्रस्ताव गरिएको हो ।
चाबहिल-गौशला खण्डमा सडक विस्तार गर्न खाली जग्गा नभएको र विश्व सम्पदा क्षेत्रमा सूचीकृत पशुपति क्षेत्र भएकाले एलिभेटेड सडक (पिलर उठाएर बनाइने) निर्माण पनि नमिल्ने भएपछि विकल्पमा सुरुङ निर्माण गर्ने प्रस्ताव गरिएको हो ।
मास्टर प्लान अनुसार प्रस्तावित चाबहिल-गौशाला भूमिगत सुरुङमार्गको लम्बाइ १५६३ मिटर छ । यो हालको चारलेनको सडक मुनि दुई तहको निर्माण हुनेछ । जसमा माथिल्लो तहको सुरुङबाट उत्तरतर्फ (चाबहिल) आउने र तल्लोतहबाट दक्षिण (गौशलातर्फ) जाने सवारी साधन गुड्ने छन् ।
भूमिगत सुरुङमार्गको कुल चौडाइ १५.५ मिटर रहेका छ । जसमा सवारी गुड्न तल र माथि दुई वटा ६.५/६.५ मिटर फराकिला बाटो बनाइने छ । त्यस्तै, सुरुङमार्गको दुवैतर्फ भित्रि सोल्डर ०.२५/०.२५ मिटर र बाहिरी सोल्डर १/१ मिटर रहने छ ।
सुरुङमार्गमा आइपर्ने आपतकालीन अवस्थामा उद्धारका लागि तल्लो तहको सुरुङमार्ग मुनि आपतकालीन सुरुङमार्ग बनाउने प्रस्ताव गरिएको छ ।
यो सुरुङमार्ग टनेर बोरिङ मेसिन (टीबीम)ले खन्ने प्रस्ताव गरिएको छ । टीबीएम मेसिन जमिन मुनि पठाउन सुरुङमा चाबहिल चोकको उत्तरतर्फ लन्च शाफ्ट निर्माण गरिने छ । त्यसपछि क्रमशः मेसिनले सुरुङ खन्न सुरु गर्नेछ । यसको रिसिभिङ शाफ्ट गौशलामा रहने छ ।
यो सुरुङ खन्नु अगाडि नै चाबहिल चोक सुधार गर्नुपर्ने प्रस्ताव गरिएको छ । सुरुङ खन्दा उक्त सडकमा सवारी साधन संचालनमा रोक लगाइने छैन । यद्यपि, सुरुङ खन्दा निस्कने माटो ओसार्न र प्रिकास्ट कङ्क्रिट ढुवानी गर्न प्रयोग हुने ठूला सवारी र उपकरणको आवतजावतको व्यवस्थापन चुनौतीपूर्ण देखिन्छ ।
यस क्षेत्रमा ढल, खानेपानी पाइप, दूरसंचार सेवाका तार व्यवस्थापन युटिलिटी करिडोरमार्फत गरिने छ । सुरुङ निर्माणअघि हेरिटेज इम्प्याक्ट असेस्मेन्ट (एचआइए) तथा पुरातात्त्विक अध्ययन अनिवार्य रुपमा गर्नुपर्नेछ । यदि, एचआइएमा हालको प्रस्ताव अनुसार निर्माण गर्न सम्भव नदेखिएका अर्को विकल्पमा जानुपर्नेछ ।
यो सुरुङमार्गको लागत निकै महँगो र विश्व सम्पदा क्षेत्र नजिक भएकाले बन्छ/बन्दैन भन्ने टुंगो छैन । तर, बनेको खण्डमा चाबहिल गौशला क्षेत्रका जाम व्यवस्थापन र नेपालको सहरी सडक पूर्वाधारमा नयाँ कोशेढुंगा हुनेछ ।
६५ अर्ब लाग्ने
मास्टर प्लान अनुसार डेढ किमी लामो सुरुङमार्ग निर्माण गर्न ६८.५ अर्ब जापानी येन अर्थात् ६५ अर्ब १० करोड नेपाली रुपैचाँ खर्च हुने अनुमान छ । यो आयोजनाको डिजाइन, प्राविधिक सेवा शुल्क, निर्माण, मुआब्जा लगायतमा खर्च हुनेछ ।
सुरुङ निर्माणका लागि व्यक्तिगत जग्गा अधिग्रहण गर्न र प्रभावित क्षेत्रका घरको क्षतिपूर्ति दिन मात्रै ९१ करोड जापानी येन (साढे ८६ करोड रुपैयाँ) खर्च हुने प्रतिवेदनमा उल्लेख छ ।
मास्टर प्लानमा उपत्यकाको यातायात प्रणाली सुधारका लागि १९ वटा परियोजना प्रस्ताव गरिएको छ । उपत्यकाका विभिन्न स्थानमा एलिभेटेड रोड, अण्डरपास/ओभरपास, आधुनिक पुल, भूमिगत पार्किङ, नयाँ करिडोर निर्माण जस्ता परियोजना प्रस्ताव गरिएको छ । प्रस्तावित १९ परियोजनाको अनुमानित लागत २ खर्ब बढी रहेको छ ।
काठमाडौं उपत्यकाको सार्वजनिक यातायात र सडकको सुधार गर्न जाइका र नेपाल सरकारले सन् २०२४ देखि नै मास्टर प्लान बनाउन थालेका थिए । उक्त काम अन्तिम चरणमा पुगेकाले यही अगस्ट भित्रै सरकारलाई प्रतिवेदन हस्तान्तरण गर्ने कार्यतालिका छ ।
जाइकाले यसअघि पनि सन् १९९१ र सन् २०२७ मा उपत्यकाको शहरी सडक तथा यातायात गुरूयोजना बनाएको थियो । उक्त गुरुयोजना कार्यान्वयनमा नआएपछि यसपटक जाइकाले मन्त्रिपरिषद्बाटै मास्टर प्लान स्वीकृत गनुपर्ने शर्त राखेका बताइएको छ ।


