काठमाडौं । टाटा मोटर्सको बहुप्रतीक्षित प्रिमियम इलेक्ट्रीक एसयूभी ‘टाटा अभिन्या एक्स’ पहिलो पटक सडक परीक्षणका क्रममा देखिएको छ । कम्पनीले गाडीलाई पूरै ढाकेर भारतको सडकमा परीक्षण गरिरहेको तस्बिरहरू बाहिरिएको हो ।
कम्पनीले सन् २०२७ भित्र बजारमा ल्याउने लक्ष्य राखेको यो ईभी परीक्षणको क्रममा देखिएसँगै उत्पादन चरणमा प्रवेश गरेको बुझ्न सकिनछ ।
टाटा मोटर्सले सन् २०२२ मा पहिलो पटक अभिन्याको कन्सेप्ट सार्वजनिक गरेको थियो । लामो समयसम्म अवधारणामा मात्र सीमित रहेको यो मोडल अब उत्पादनको चरणमा प्रवेश गरेको छ।
परीक्षणका क्रममा देखिएको गाडीलाई पूरै ढाकिए पनि यसको बनावटले कन्सेप्ट मोडलकै जस्तो आधुनिक र आकर्षक रूपरेखालाई कायम राख्ने संकेत गरेको छ । लामो ह्वीलबेस, होचो छत र फास्टब्याक शैलीको प्रोफाइलका कारण यो एसयूभी टाटाका हालका अन्य ईभीभन्दा निकै प्रिमियम देखिनेछ।
अभिन्या एक्सले टाटा मोटर्सको ईभी रणनीतिमा पनि एउटा महत्त्वपूर्ण परिवर्तन ल्याउनेछ । टाटाले पहिले अभिन्यालाई जेएलआर ईएमए आर्किटेक्चरमा बनाउने योजना बनाएको थियो। तर पछिल्ला घटनाक्रमहरूले यो नयाँ मोडेल चेरी जेएलआरले विकास गरेको फ्रिल्याण्डर प्लेटफर्ममा आधारित हुने सङ्केत गर्छन्। टाटाले भारतीय बजार अनुकूल बनाउन यस प्लेटफर्मको इलेक्ट्रोनिक्स र सफ्टवेयरलाई पुनः परिमार्जन गर्ने अपेक्षा गरिएको छ। यसको उत्पादन तमिलनाडुको पानापाक्कमस्थित टाटाको नयाँ प्लान्टमा हुनेछ।

गाडीको ब्याट्री र पावरट्रेनबारे आधिकारिक विवरण आउन बाँकी छ । तर, यसमा ७५ देखि ९५ किलोवाट आवर क्षमताको ब्याट्री प्याक प्रयोग हुने अनुमान छ । जसले एकपटकको फुलचार्जमा करिब ६०० देखि ७०० किलोमिटर रेन्ज दिनेछ ।
यसको टप भेरियन्टमा डुअल मोटर अल ह्वील ड्राइभ सिस्टम रहन सक्नेछ । जसले ३०० देखि ४०० पीएस शक्ति प्रदान गर्छ ।
अभिन्या ईभीमा टाटाका अहिलेसम्मका मोडलमा नभएका अत्याधुनिक क्याबिन फिचरहरू रहने अपेक्षा गरिएको छ। यो एसयूभीको ड्यासबोर्ड सामान्य तर आधुनिक हुनेछ । ठूलो सेन्ट्रल इन्फोटेनमेन्ट स्क्रीन र आरामदायी तथा फराकिलो ठाउँलाई ध्यानमा राखिएको प्रिमियम इन्टेरियर रहनेछ। छुट्टै इलेक्ट्रीक प्लेटफर्म भएकाले टाटालाई गाडीभित्रको ठाउँ धेरैभन्दा धेरै बढाउन मद्दत पुग्नेछ। साथै, आधुनिक कनेक्टेड प्रविधि र ड्राइभर असिस्टेन्स सिस्टम जस्ता सुविधाहरू पनि उपलब्ध हुने सम्भावना छ।
यसमा मिनिमलिस्ट ड्यासबोर्ड, ठूलो सेन्ट्रल इन्फोटेनमेन्ट स्क्रीन, उन्नत कनेक्टेड प्रविधि, एडास जस्ता प्रिमियम सुविधाहरू समावेश गरिनेछ।
टाटाको पोर्टफोलियोमा यो गाडी सफारी ईभी र ह्यारियर ईभीभन्दा माथिल्लो श्रेणीमा रहनेछ। यसले बजारमा प्रवेश गरेपछि मुख्यगरी बीवाइडी सिलियन ७, किया ईभी ६ र हुन्डाई आयोनिक ५ जस्ता स्थापित प्रिमियम ईभीहरूसँग सीधा प्रतिस्पर्धा गर्नेछ ।


