काठमाडौं । मारुति सुजुकीको बहुप्रतीक्षित कम्प्याक्ट एसयूभी ब्रेजा फेसलिफ्ट मोडलले सुरक्षामा अब्बल रेटिङ पाएको छ ।
फेसलिफ्ट ब्रेजाले भारत एनक्यापको क्र्यास टेस्टमा उत्कृष्ट प्रदर्शन गर्दै सुरक्षातर्फ फाइभ स्टार रेटिङ पाएको हो । कम्पनीले लन्च हुनु अघि ब्रेजा फेसलिफ्टको सेफ्टी रेटिङ नतिजा सार्वजनिक गरेको हो।
नयाँ ब्रेजाले वयस्क यात्रु सुरक्षा र बाल यात्रु सुरक्षा दुवै श्रेणीमा उच्च अंक हासिल गर्दै फाइभ स्टार रेटिङ पाएको हो । ब्रेजा फेसलिफ्टले वयस्क यात्रु सुरक्षामा ४२ मा ३०.४१ अंक र बाल यात्रु सुरक्षामा ४९ मा ४३ अंक पाएको हो ।
नयाँ ब्रेजाले वयस्क यात्रु सुरक्षामा अगाडिको साइड ठोक्काउने परीक्षण १६ मा १४.४१ अंक र छेउबाट ठोक्काउने परीक्षण १६ मा १६ अंक पाएको छ । अगाडिको साइड ठोक्काउने परीक्षणमा, चालकको टाउको, गर्धन, कम्मर, तिघ्रा र खुट्टाले ‘राम्रो’ सुरक्षा पाए भने छाती र घुँडामुनिको हड्डीले ‘पर्याप्त’ सुरक्षा पाए।
सोही परीक्षणमा, सहचालकका घुँडामुनिको हड्डीबाहेक अन्य सबै मुख्य अंगहरूले ‘राम्रो’ सुरक्षा पाएका थिए । छेउबाट ठोक्काउने र पोलमा ठोक्काउने परीक्षणहरूमा, यात्रुको टाउको, छाती, पेट र कम्मर लगायतका सबै मुख्य अंगहरूले राम्रो सुरक्षा पाए। पोलमा ठोक्काउने परीक्षणमा नतिजा ‘ओके रहेको थियो।
त्यस्तै, एनक्याप बाल यात्रु सुरक्षाको डाइनामिक स्कोर २४ मा २४ अंक र सीआरएस जडान स्कोर १२ मा १२ अंक पाएको छ । १८ महिना र ३ वर्षका बालबालिकाको डमीलाई पछाडितर्फ फर्काएर गरिएको परीक्षणमा गाडीले अगाडिको ठक्करमा ८ मा ८ र छेउको ठक्करमा ४ मा ४ अंक ल्याउँदै शतप्रतिशत नतिजा निकालेको छ।
भारत एनक्यापले क्र्यास टेस्टका लागि ब्रेजाको जेडएक्सआइ प्लस १.५ लिटर अटोमेटिक भेरियन्ट प्रयोग गरेको थियो। यो नतिजा ब्रेजाका अन्य सबै भेरियन्टहरूमा समान रूपमा लागू हुनेछ।
ये गाडीमा ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, सबै सिटमा सिट बेल्ट रिमाइन्डर, अगाडिको सिटमा सिट बेल्ट प्रिटेन्सनर, पछाडिको सिटमा आइएसओ फिक्स चाइल्ड सिट एन्करेज लगायत प्रमुख सुरक्षा फिचरहरू उपलब्ध छन् ।
फेसलिफ्ट ब्रेजाले सेफ्टी रेटिङमा ठूलो सुधार गरेको छ । यसअघि सन् २०१८ मा ग्लोबल एनक्यापले तत्कालीन ‘भिटारा ब्रेजा’ को क्र्यास टेस्ट गर्दा यसले वयस्क सुरक्षामा फोर स्टार र बाल सुरक्षामा जम्मा टु स्टार मात्र पाएको थियो।


