भोलिदेखि संचालनमा आउँदै नागढुंगा सुरुङमार्ग, थाहा पाउनुहोस् ५ मुख्य कुरा

काठमाडौं । नेपालकै पहिलो नागढुंगा-सिस्नेखोला सुरुङमार्ग भोलि (सोमबारदेखि) संचालनमा आउने भएको छ । निर्माण थालिएको ८१ महिनापछि उक्त सुरुङमार्ग संचालनमा आउने भएकाे हो ।

आयोजनाको उद्घाटन पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्षले संयुक्त रूपमा गर्ने तयारी छ ।

पहिलो चरणमा आपत्कालीन सवारी साधनलाई मात्र सुरुङ खुला गरिने आयोजनाका निर्देशक सौजन्य नेपालले जानकारी दिए । उनका अनुसार सुरूमा सुरक्षामर्कीको गाडी, एम्बुलेन्स, दमकल लगायत गाडी मात्र गुड्न पाउने छन् । त्यसपछि तचरणबद्ध रूपमा अन्य निजी तथा सार्वजनिक सवारीका लागि खुला गरिने उनले बताए ।

‘पहिलो चरणमा आपत्कालीन सेवाका सवारी गाडी जस्तै एम्बुलेन्स, दमकल, सुरक्षाकर्मीका गाडी संचालन हुन्छ । त्यसपछि चरणबद्ध रूपमा अरू सवारीका लागि खुला गरिन्छ,’ उनले भने ।

जापानी निर्माण कम्पनी ‘हाज्मा आन्दो कर्पोरेसन’ ले २०७६ कात्तिक ४ देखि काम सुरू गरेको थियो । ४२ महिना भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको सुरुङ ८ वर्षमा संचालनमा आउने लागेको हो । उक्त सुरुङमार्ग करिब २१ अर्ब रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको हो ।

नागढुंगा-नौबिसे सुरुङमार्ग २ हजार ६८८ मिटर लामो छ । सुरुङमार्ग संचालनमा आएसँगै नौबिसे-नागढुंगा सडकमा सवारी आवतजावत सहज हुनुका साथै इन्धन खपत र समय बचत हुनेछ ।

सुरुङमा कुन गाडी गुड्न पाउँछन् ? कुन पाउँदैनन् ?

नागढुंगा-सिस्नेखोला सुरुङमार्ग यातायात संचालन सम्बन्धी निर्देशिका, २०८१ अनुसार सुरुङमार्गमा सबैखाले सवारी साधन गुडाउन पाइँदैन । निर्देशिका अनुसार सुरुङ भित्र दुईपाँग्रे (मोटरसाइकल/स्कुटर), तीनपाँग्रे (ट्याम्पु, अटोरिक्सा), डिजेल, पेट्रोल लगायत पेट्रेलियम पद्धार्थ बोकेका ट्यांकरलाई प्रवेश निषेध गरिएको छ ।

त्यस्तै, सुरक्षा निकायका बाहेक हातहतियार बोकेका, विस्फोटक पदार्थ बोकेका, दुर्गन्धित गन्हाउने, कुहिएका सवारी साधन बोकेका, नन मोटराइज्ड सवारी साधन पनि सुरुङ भित्र गुडाउन पाइँदैन । साथै, सुरुङमार्ग भित्र १८ मिटर लम्बाइ, २.५ मिटर चौडाइ र ४.२५ मिटर उचाइभन्दा ठूला सवारीसाधन चलाउन नपाउने निर्देशिकामा उल्लेख छ ।

यी बाहेक कार, जीप, भ्यान, माइक्रोबस, मिनिट्रक, ट्रक, बस लगायत सवारी भने गुड्न पाउँछन् ।

कति लाग्छ शुल्क ?

सरकारले सुरुङमार्गबाट गुड्ने सवारी साधनको वर्ग अनुसार उपभोग दस्तुर (टोल) तोकेको थियो । सुरुङमार्ग हुँदै काठमाडौं आउँदा कार तथा भ्यानहरूले ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्छ ।

त्यस्तै, मिनिबस र मिनिट्रकले काठमाडौं आउँदा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ, बस तथा ट्रकले काठमाडौं आउँदा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क तिर्नुपर्नेछ । त्यसैगरी, हेभी सवारी साधनले काठमाडौं आउँदा ६०० र बाहिरिँदा २५० रुपैयाँ टोल शुल्क तिर्नुपर्नेछ ।

कसरी तिर्ने पैसा ?

सुरुङमार्ग प्रयोग गर्ने सवारीले डिजिटल माध्यममार्फत दस्तुर तिर्नुपर्ने व्यवस्था गरिएको छ । सडक बोर्ड नेपालका अनुसार सुरुङमार्गमा शुल्क तिर्न मिल्ने गरी रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन (आरएफआईडी) प्रविधिमा आधारित स्टिकरका रूपमा एन-ट्यागको व्यवस्था गरिएको छ ।

सुरुङ प्रयोग गर्ने गाडीले भुक्तानीका लागि बैंकबाट एन ट्याग कार्ड लिनुपर्छ । हाल ग्लोबल आईएमई, कुमारी, नबिल, नेपाल इन्भेस्टमेन्ट मेगा र सानीमा बैंकबाट एट ट्याग कार्ग लिन पाइन्छ । हाललाई १ हजार, २ हजार र ५ हजार नगदको एन-ट्याग लिने व्यवस्था गरिएको छ । उक्त एनट्याग कार्डको स्टिकर गाडीको सिसामा टाँस्नुपर्छ । जसलाई मेसिनले अटोमेटिक रिड गर्छ । र, कार्डबाट अनलाइन भुक्तानी हुन्छ । यद्यपि, सुरूआती केही समय क्यूआर र नगदबाट पनि भुक्तानीको व्यवस्था मिलाइने छ । भारत र चीनबाट आउने पर्यटकका लागि नगदबाटै भुक्तानी गर्न सक्नेछन् । सुरुङमार्गबाट उठेको दस्तुर दैनिक सडक बोर्ड नेपालमा खातामा जम्मा हुनेछ ।

कति स्पीडमा चलाउन पाइन्छ ?

सुरुङमार्गमा गुड्ने सवारी साधनको अधिकतम गति प्रतिघण्टा ६० किलोमिटर तोकिएको छ । सोभन्दा तीव्र गतिमा सवारी चलाएमा कारबाही हुनेछ ।

कसले गर्छ संचालन ?

सुरुङमार्ग संचालनको ठेक्का नेपाली-चिनियाँ लगानीके युसिन एआरटी कम्पनीले लिएको छ । उक्त कम्पनीले ५ वर्षसम्म २४सै घण्टा संचालन गर्न १ अर्ब १० करोड रुपैयाँमा ठेक्का पाएको हो । ५ वर्षसम्म सोही कम्पनीले सुरुङमार्गको रेखदेख, मर्मत सम्भार गर्नुपर्नेछ । जनशक्ति व्यवस्थापन कम्पनीले नै गर्नुपर्नेछ । सुरुङ संचालनका लागि १५० जना कर्मचारी आवश्यक पर्नेछन् ।

हाल नागढुंगा नाका हुँदै दैनिक औसतमा दुई पाँग्रे बाहेक करिब ८ हजारभन्दा धेरै साना तथा ठूला सवारीसाधन गुड्ने गर्छन् । तीमध्ये करिब ५०/६० प्रतिशत अर्थात् ४ हजारदेखि ५ हजार सवारीले सुरुङ प्रयोग गर्ने अनुमान गरिएको छ ।


Back_to_top