नेपालमा ६३ हजार नाघे विद्युतीय सवारी

काठमाडौं । नेपालमा विद्युतीय सवारीको कुल संख्या ६३ हजार नाघेको छ । पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक गरेको ‘राष्ट्रिय यातायात नीति-२०८३’ अनुसार आर्थिक वर्ष २०८२/८३ सम्म नेपालमा दर्ता भएका कुल विद्युतीय सवारी साधनको संख्या ६३ हजार २८० पुगेको हो ।

यद्यपि, नीतिमा दुईपाँग्रे/चारपाँग्रे कुन सवारीको संख्या कति भन्ने चाहिँ खुलाइएको छैन । पछिल्लो समय वर्षेनी विद्युतीय सवारीको प्रयोग बढ्दै जाँदा दर्ता हुने सवारीको संख्या पनि बढेको हो । सरकारले दिएको कर सहुलियत, वित्तीय प्रोत्साहन र सहज फाइनान्सिङका कारण ईभीको आयात तीव्र रुपमा बढेको हो ।

हाल आयात हुने निजी कारमध्ये ईभीको हिस्सा ७० प्रतिशतभन्दा बढी रहेको नीतिमा उल्लेख छ । नयाँ सवारी साधन बिक्रीको क्षेत्रमा ईभीको बजार हिस्साका आधारमा नेपाल विश्वमै दोस्रो स्थानमा पर्न सफल भएको छ । जुन नर्वेभन्दा मात्र पछाडि रहेको नीतिमा प्रस्ट पारिएको छ ।

पछिल्लो २ वर्ष लगातार १० हजार युनिट बढी चारपाँग्रे ईभी आयात भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ । विद्युतीय सवारीको बढ्दो प्रयोगले इन्धन आयातमा कमी ल्याई मुलुकभित्रै उत्पादित विद्युत् ऊर्जाको उपयोग विस्तार भएको नीतिमा उल्लेख छ ।

यद्यपि, चार्जिङ पूर्वाधार, ब्याट्री व्यवस्थापन, सुरक्षा मापदण्ड, रिसाइकल प्रणाली तथा संचालन सम्बन्धी व्यवस्था विभिन्न नीतिगत, संस्थागत तथा कार्यान्वयन तहका कुरा अझै विकासकै चरणमा रहेको नीतिमा उल्लेख छ ।

२०८२/८३ को फागुनसम्म देशभर ६२ लाख ४९ हजार ७३२ सवारीसाधन दर्ता भएकामा ५० लाखभन्दा बढी मोटरसाइकल छन् । यसरी हेर्दा मोटरसाइकलको हिस्सा ८० प्रतिशतभन्दा बढी पुगेको नीतिमा उल्लेख छ ।


Back_to_top