काठमाडौं । नेपालमा बिक्री हुँदै आएका विद्युतीय कार मध्य एमजी एस फाइभ लक्जरी (४९ किलोवाट आवर) र ओरा फाइभ (हाइ भेरियन्ट) एक अर्काका मुख्य प्रतिस्पर्धी हुन् ।
यी दुई बीचको प्रतिस्पर्धा साइज, फिचर र मूल्यमा हुने देखिन्छ । एमजी एस फाइभ लक्जरी भेरियन्टको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेर विगत १७ महिनादेखि बिक्री हुँदै आएको छ ।
अघिल्लो महिनाबाट मात्रै नेपालमा बिक्री सुरू भएको ओरा फाइभको मिड भेरियन्ट ४६ लाख ९९ हजार रुपैयाँमै किन्न पाइन्छ । यसको टप भेरियन्टको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ छ । त्यसैले यो तुलनामा हामीले टप भेरियन्ट नै लिएका छौं ।
मूल्यका आधारमा २ लाख रुपैयाँ अन्तर रहेका एस फाइभ र ओरा फाइभको डिजाइन, ड्राइभिङ क्वालिटी, ब्याट्री क्षमता, रेन्ज र प्रयोगकर्तालाई दिने अनुभवमा भने ठूलै अन्तर छ ।
यी दुई मोडलको स्पेसिफिकेसन, ड्राइभिङ रिभ्यू र हाम्रो सडकको आवश्यकता समेतलाई आधार मान्दा कुन गाडी बढी उपयोगी होला भन्ने जिज्ञासा तपाईको मनमा छ भने त्यसलाई मेटाउने हाम्रो प्रयास हो ।
समानता धेरै, दृष्टिकोण फरक
पहिलो नजरमा हेर्दा एमजी एस फाइभ र ओरा फाइभ दुवै आधुनिक विद्युतीय एसयूभी हुन् । दुवैमा पर्याप्त सुरक्षा फिचर, स्मार्ट कनेक्टिभिटी, एडास प्रणाली, ३६० डिग्री क्यामेरा, ६ एयरब्याग, ठूलो टचस्क्रीन, प्यानोरामिक सनरुफ र फास्ट चार्जिङ सुविधा पाउन सकिन्छ ।

दुवै गाडी परिवार केन्द्रित प्रयोगकर्तालाई लक्षित गरेर निर्माण गरिएका हुन् । शहरभित्रको दैनिक आवागमनदेखि लामो दूरीको यात्रासम्मलाई ध्यानमा राखेर तयार गरिएका यी एसयूभीले आराम, प्रविधि र सुरक्षा तीनै पक्षमा सन्तुलित अनुभव दिने प्रयास गरेका छन् ।
यी दुई मोडलको समानता यतिमै सीमित छैन । दुवैमा एलएफपी ब्याट्री प्रविधि छ । ब्याट्रीको क्षमता र त्यसले दिने रेन्जमा भने अन्तर छ ।
ब्याट्री र रेन्जमा ओरा ५ अगाडि
ओरा फाइभको सबैभन्दा ठूलो बल ५८.३ किलोवाट आवर क्षमताको ब्याट्री हो । एमजी एस फाइभ लक्जरीमा ४९ किलोवाट आवर क्षमताको ब्याट्री छ । सडकमा चलाउँदा ओरा फाइभले एमजी एस फाइभको भन्दा करिब ५० देखि ६० किलोमिटर बढी रेन्ज दिन्छ ।
एमजी एस फाइभ ड्राइभिङमा उत्कृष्ट
एमजी एस फाइभलाई यसको ड्राइभिङ अनुभवका कारण प्रशंसा गरिएको छ । एमजी फोरमा प्रयोग भएको आधुनिक प्लेटफर्मबाट विकास गरिएको एस फाइभ चलाउन निकै रमाइलो क्रसओभर एसयूभी हो ।
ड्राइभिङमा यसको सबैभन्दा बलियो पक्ष भनेको रियर ह्वील ड्राइभ सिस्टम हो । एमजी एस फाइभको मोटर पछाडिको एक्सलमा राखिएको छ । जसले गाडीको वजन वितरण निकै सन्तुलित छ ।
एस फाइभ लिएर तीव्र मोडमा प्रवेश गर्दा, उकालो सडकमा चढ्दा वा उच्च गतिमा यात्रा गर्दा चालकले बढी नियन्त्रण र आत्मविश्वास महसुस गर्न सक्छन् ।
सस्पेन्सनमा तुलना
गाडीमा कम चर्चा हुने र सबैभन्दा महत्वपूर्ण कुरा सस्पेन्सन प्रणाली हो । एमजी एस फाइभमा पछाडितर्फ फाइभ-लिंक इन्डिपेन्डेन्ट सस्पेन्सन दिएको छ ।
ओरा फाइभको पछाडि टर्सन बिम रियर सस्पेन्सन प्रयोग गरिएको छ । अगाडि दुवैले एउटै सस्पेन्सन दिएका छन् ।
फरक देखिने ओरा फाइभ
एमजी एस फाइभ चालक केन्द्रित एसयूभी हो । तर, ओरा फाइभ आराम केन्द्रित एसयूभी हो । ओरा फाइभको बाहिरी डिजाइन अन्य चिनियाँ ईभीभन्दा फरक देखिन्छ ।
गोलाकार डिजाइन एलिमेन्ट, सफ्ट टच मटेरियल, प्रिमियम सिट र आरामदायी क्याबिन वातावरणले यसलाई थप लक्जरी अनुभूति दिने गाडी बनाएको छ ।
हाम्रो टेस्ट ड्राइभले पनि ओरा फाइभलाई ‘बजेट प्रिमियम ईभी’ भनेको थियो । यसको केबिन वातावरण, सिटको आराम र शान्त ड्राइभिङ अनुभवले विशेषगरी परिवारमुखी ग्राहकलाई आकर्षित गर्ने देखिन्छ ।
ग्राहकको प्राथमिकता ‘ड्राइभिङ मजा’ भन्दा ‘आरामदायी यात्रा’ हो भने ओरा फाइभ बढी उपयुक्त विकल्प बन्न सक्छ ।
त्यसो भए कुन किन्ने ?
ठ्याक्कैभन्दा तपाईंको प्राथमिकता बढी रेन्ज, प्रिमियम क्याबिन र आरामदायी यात्रा हो भने ओरा फाइभ किन्दा राम्रो हुन्छ ।

तर, तपाईं ड्राइभिङ अनुभव, सडकमा स्थिरता, पहाडी क्षेत्रमा नियन्त्रण, व्यावहारिकतासँगै केही कम बजेटको गाडी लिन खोज्दै हुनुहुन्छ भने एमजी एस फाइभ ठिक हुन्छ ।
त्यसैले एमजी एस फाइभ र ओरा फाइभ दुवै आफ्नो-आफ्नो सेग्मेन्टको उत्कृष्ट विद्युतीय एसयूभी हुन् । ओरा फाइभले ठूलो ब्याट्री, बढी रेन्ज र प्रिमियम अनुभव प्रदान गर्छ । एमजी एस फाइभले उत्कृष्ट ड्राइभिङ डाइनामिक्स, उन्नत सस्पेन्सन, व्यावहारिकता र मूल्यअनुसारको फिचर अफर गरेको छ ।
त्यसैले, ५० लाख रुपैयाँ हाराहारीको सेग्मेन्टमा यी दुई एसयूभी बीचको प्रतिस्पर्धा वास्तवमै नेपाली ईभी बजारकै सबैभन्दा रोचक भिडन्तमध्ये एक बन्ने देखिन्छ ।


