काठमाडौं । नेपाली बजारमा चिनियाँ ब्राण्ड डोङफेङका इलेक्ट्रीक बस सार्वजनिक भएको छ ।
नेपालका लागि डोङफेङको आधिकारिक बिक्रेता हिमालयन अर्गनाइजेशन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले जारी नाइमा मोबिलिटी एक्स्पोमा डोङफेङका ईभी बस बिक्री सुरु गरेको हो ।
कम्पनीले डोङफेङका सिटी ईभी र लङ रेन्ज दुई भेरियन्ट उपलब्ध गराएको छ । कम्पनीले सिटी ईभी बसको मूल्य १ करोड १४ लाख ५० हजार र लङ रेन्ज ईभीको १ करोड २४ लाख रुपैयाँ तोकेको छ । नाइमामा बुकिङ गर्ने ग्राहकले दुवै बसमा तोकिएको मूल्यमा ५ लाख रुपैयाँ छुट पाउने कम्पनीले जनाएको छ ।
यी बसमा दुई वटा ढोका रहेका छन् भने सिट संख्या २५ देखि २९ सम्म रहेको छ । यी बसमा २२० किलोवाट आवरको पर्मानेन्ट म्यागनेट सिंक्रोनोअस मोटर छ । जसले अधिकतम १५०० न्युटन मिटर टर्क प्रदान गर्छ ।
यी बसमा १०३.४७ किलोवाट आवर र १४० किलोवाट आवरको ब्याट्री छ । जसले एकपटकको फुलचार्जमा क्रमशः २५० र ३५० किमी सीएलटीसी रेन्ज दिन्छ ।
यी बसको ग्राउण्ड क्लियरेन्स ३२० एमएम छ । कुल लम्बाइ ७१८० एमएम, चौडाइ २३६५ एमएम र उचाइ २९८० एमएम छ । यी बसमा ३७५० एमएमको ह्वीलबेस पाउन सकिन्छ ।
कम्पनीले यी बसको ब्याट्रीमा ५ वर्ष वा २ लाख किलोमिटर वारेन्टी दिएको छ । ग्राहकले इच्छा अनुसार वारेन्टी ८ वर्ष वा ४ लाख किमीसम्म विस्तार गर्न सक्ने कम्पनीले जनाएको छ । त्यस्तै, मोटरमा ५ वर्ष वा १ लाख किमीको वारेन्टी दिएको छ ।
सरकारले ठूला ईभी प्राथमिकतामा राख्ने नीति बनाउन थालेको र बजारमा बढ्दो मागलाई मध्येनजर गर्दै कम्पनीले डोङफेङका बस नेपाल भित्र्याएको हो । निकट भविष्यमै ९ र १२ मिटर लामा ३८ र ५२ सिट क्षमताका ईभी नेपाल ल्याउने कम्पनीले जनाएको छ ।
डोङफेङ चीनको सबैभन्दा ठूलो तथा प्रतिष्ठित अटोमोबाइल उत्पादक कम्पनीहरूमध्ये एक हो । सन् १९६९ मा स्थापना भएको यो कम्पनी चीन सरकारको स्वामित्वमा रहेको छ। यो कम्पनीले कार, बस, ट्रक, विशेष प्रयोजनका सवारी र अटोमोबाइलका विभिन्न पार्टपुर्जा उत्पादन गर्दै आएको छ ।


