काठमाडौं । नेपालमा चिनियाँ अटोमोबाइल कम्पनी बीएआइसीको सब ब्राण्ड आर्कफक्सको प्रिमियम क्रसओभर आर्कफक्स टी वान सार्वजनिक भएको छ ।
नेपालका लागि आर्कफक्सको आधिकारिक बिक्रेता लक्ष्मी मोटरहबले जारी नाइमा मोबिलिटी एक्स्पोमा आर्कफक्स टी वान बिक्री सुरू गरेको हो ।
कम्पनीले आर्कफक्स टी वानकाे दुई भेरियन्ट उपलब्ध गराएकाे छ । जसमा एलभी २ भेरियन्टकाे मूल्य ३२ लाख ९६ हजार र एलभी ३ भेरियन्टको ३५ लाख ९६ हजार रुपैयाँ तोकेको छ । जुन प्रतिस्पर्धी मोडल र ग्राहकले सोचेभन्दा कम नै हो ।
कम्पनीले यो एसयूभी विभिन्न ५ कलरमा उपलब्ध गराएको छ । यसको लम्बाइ ४३३७ एमएम, चौडाइ १८०५ एमएम र उचाइ १५७३ एमएम रहेको छ । यसमा २७५० एमएम लामो ह्वील बेस पाउन सकिन्छ ।
आर्कफक्स टी वानमा ७० किलोवाटको इलेक्ट्रीक मोटर छ । यसले १७० न्युटन मिटर टर्क प्रदान गर्छ । १८१ एमएम ग्राउण्ड क्लियरेन्स रहेको यो गाडीको टप स्पीड क्षमता प्रतिघण्टा १४० किलोमिटर छ ।
यसमा ४२.३ किलोवाट आवरको एलएफपी ब्याट्रीप्याक छ । जसले एकपटकको फुलचार्जमा ३१० किमी डब्लूएलटीपी रेन्ज दिन्छ । यो कारलाई डीसी फास्ट चार्जिङबाट केबल २५ मिनेटमा ३० देखि ८० प्रतिशत चार्ज गर्न सकिन्छ । यसलाई ७ किलोवाटको एसी चार्जरबाट ८ घण्टामा फुलचार्ज गर्न सकिन्छ ।
यसको क्याबिन निकै आकर्षक र फिचर लोडेड छ । यसमा १५.६ इन्चको एचडी चटस्क्रीन, ६ स्पीकर सिस्टम, भ्वाइस कन्ट्रोल, इजिलिंक, एप्पल कार प्ले, अगाडि ६६ वाटको सुपर चार्जर, पछाडि २७ वाटको यूएसबी टाइप सी चार्जिङ पोर्ट, हिटेड/भेन्टिलेटेड सिट छ ।
यसमा इकोनोमी, स्पोर्टस्, कम्फर्ट र पर्सनलाइज्ड गरी ४ ड्राइभिङ मोड उपलब्ध छ ।
सुरक्षाका लागि यसमा क्रुज कन्ट्रोल, अटोमेटिक पार्किङ, लेन डिपार्चर वार्निङसहित विभिन्न सुविधा भएको एडास फिचर छ । साथै, इलेक्ट्रोनिक पार्किङ ब्रेक, सिटबेल्ट रिमान्डर, एबीएस, ईबीडी, ईएसपी, ४ वटा एयरब्याग, हिल कन्ट्रोल, फ्रन्ट/रियर पार्किङ सेन्सर, रिभर्स पाथ ट्रेस लगायत सेफ्टि फिचर छन् ।


