मासिक १७ हजारमै वुलिङको ईभी चढ्न सकिने

काठमाडौं । पारामाउन्ट मोटर्सले नाइमा मोबिलिटी एक्स्पोमा लन्च गरेको वुलिङ मिनी ईभी मासिक १७ हजार रुपैयाँ किस्ता तिरेर चढ्न सकिने भएको छ ।

कम्पनीले वुलिङ मिनी स्ट्याण्डर्ड र लङ रेन्ज गरी दुई भेरियन्टमा उपलब्ध गराएको छ । जसमा स्ट्याण्डर्ड भेरियन्टको मूल्य नाइमा अफर अन्तर्गत १९ लाख ९९ हजार रुपैयाँ र लङ रेन्जको २१ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।

निकै आकर्षक मूल्यमा आएको मिनी ईभीको स्ट्याण्डर्ड भेरियन्ट मासिक १७ हजार हाराहारी किस्ता तिरेर चढ्न सकिने भएको हो ।

नेपाल राष्ट्र बैंकको नियम अनुसार हाल विद्युतीय कार किन्न ६० प्रतिशतसम्म ऋण पाइन्छ भने सुरूमा ४० प्रतिशत डाउनपेमेन्ट बुझाउनुपर्छ ।

सो अनुसार ग्राहकले १९ लाख ९९ हजार रुपैयाँ मूल्य पर्ने मिनी ईभीको स्ट्याण्डर्ड भेरियन्ट किन्न सुरूमा ४० प्रतिशत अर्थात् ७ लाख ९९ हजार ६०० रुपैयाँ डाउन पेमेन्ट बुझाउनु पर्ने हुन्छ । बाँकी ११ लाख ९९ हजार ४०० रुपैयाँ बैंकबाट ७ वर्षका लागि कर्जा पाउने छन् ।

हाल बैंक तथा वित्तीय संस्थाको ब्याजदर इतिहासकै सस्तो छ । ग्राहकले सहजै ५/५.५० प्रतिशत ब्याजदरमा कर्जा पाउने अवस्था छ । यस्तोमा ५.५ प्रतिशत ब्याजदरका आधारमा हिसाब गर्दा मिनी ईभीको स्ट्याण्डर्ड भेरियन्ट मासिक १७ हजार २३७ रुपैयाँ किस्ता तिर्ने गरी किन्न सकिन्छ ।

यो रकम काठमाडौंमा दैनिक ३० किमी यात्रा गर्नेहरूको झण्डै मासिक पेट्रोल खर्च बराबर नै हो । मिनी ईभीको लङ रेन्ज भेरियन्ट किन्न हो भने सुरूमा ८ लाख ७९ हजार ६०० रुपैयाँ किस्ता बुझाउनुपर्छ । बाँकी १३ लाख १९ हजार ४०० रुपैयाँ कर्जा पाइन्छ । जसको मासिक किस्ता करिब १९ हजार रुपैयाँ पर्न आउँछ ।

यस्तो छ मिनी ईभी

वुलिङको ‘होङगुआङ’को पाँचौं जेनेरेशन मोडल नेपालमा भने ‘मिनी ईभी’ नामबाट आएको हो । ४ ढोके यो मिनी ईभीको लम्बाइ ३२६८ एमएम, चौडाइ १५२० एमएम र उचाइ १५७५ एमएम छ ।

कम्पनीले यसमा ३० किलोवाट क्षमताको ‘थ्री इन वान’ मोटर दिएको छ । जसमा ३ वटा ड्राइभिङ मोड पाउन सकिन्छ । स्टायण्डर्ड, ईको र स्पोर्ट मोड आवश्यकता अनुसार चालकले प्रयोग गर्न सक्नेछन् ।

मिनी ईभीमा १६.२ किलोवाट आवर र २५.१ किलोवाट आवरको ब्याट्री अप्सन पाउन सकिन्छ । यी ब्याट्रीले एकपटकको फुलचार्जमा क्रमशः २०५ र ३०१ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ । डीसी चार्जरको प्रयोग गर्न सकिने मिनी कारलाई ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न केबल ३५ मिनेट लाग्नेछ ।

यसमा मोबाइल एप कनेन्टिभिटी उपलब्ध कारमा थुप्रै सुरक्षा फिचर छन् । इलेक्ट्रीक पार्किङ ब्रेक, दुई एयरब्याग, इलेक्ट्रीक स्टेबिलिटी कन्ट्रोल, हिल होल्ड, डाइनामिक ब्रेक फङ्सन, ट्रयाक्सन कन्ट्रोल, हाइड्रोलिक ब्रेक असिस्ट, अटो होल्ड जस्ता फिचर छन् ।

‘हाइ स्ट्रेन्थ स्टील’को प्रयोग भएको मिनी कार सहरी क्षेत्रको लागि निकै स्मार्ट मोबिलिटी हुने अनुमान गर्न सकिन्छ । यहाँका साँघुरा गल्ली र टाइट पार्किङमा पनि यसलाई सहजै लान र राख्न सकिन्छ । हाइ डेफिनेशन क्वालिटीको रिभर्स इमेज, रियर पार्किङ सेन्सर जस्ता फिचरले चालकलाई निकै सहज बनाउने छ ।

यसको चेसिस पनि सहर केन्द्रित नै छ । आरामदायी यात्रालाई ध्यानमा राखेर बनाइएको मिनी कारको चारवटै चक्कामा डिस्क ब्रेक पाउन सकिन्छ । रिजेनेरेटीभ ब्रेकिङ सिस्टम पनि ३ तहको छ । जहाँ कम्फर्ट, स्टायण्डर्ड र स्ट्रङ मोड पाउन सकिन्छ ।


Back_to_top