काठमाडौं । आइतबार (हिजो) मात्रै नाइमा मोबिलिटी एक्स्पो सम्पन्न भयो । अर्को सातादेखि नाडा अटो शो पनि सुरू हुँदैछ । आगामी भदौ ९ गतेबाट सुरू हुने नाडा अटो शोमा के के नयाँ आउँदैछन् भन्ने चासो धेरैमा बढ्दै गएको छ ।
अघिल्लो वर्ष उड्ने कार ल्याएर नाडा अटो शो २०२५ लाई भव्य रूपमा सफल बनाएको आयोजकले यस वर्ष के के नयाँ आउँदै भन्ने कुरा आज (सोमबार) दिउँसो पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिँदैछ । नाडाले आफ्नो स्थापनाको ५० वर्ष पुगेको समयमा हुन लागेको अटो शोमा धेरै नयाँ कुरा गर्ने सहजै अनुमान लगाउन सकिन्छ ।
यसवर्ष नाडा अटो शोमा टेस्लाकाे साइबर ट्रक नेपाल आउने हल्ला चलिरहेको छ । तर, हामीले यहाँ बजारमा प्रभाव पार्न सक्ने खालका ३ मोडलको बारेमा चर्चा गर्न खोजिरहेका छौं ।
हामीले यहाँ चर्चा गर्न खोजेको एसयूभी मोडल हो । बजारमा एसयूभीको आकर्षण बढिरहेका बेला ३ फरक प्रकृतिका नयाँ मोडल आउन लागेका हुन् । जसमा जेटोर टी-२, टाटा सिएरा ईभी र चांगान नेभो क्यू०५ हुन् ।
यी तीन मोडलको विशेषता भने एउटै छैन । जेटोर टी-२ एड्भेन्चर र प्लगइन हाइब्रिड प्रविधिमा केन्द्रित एसयूभी हो । टाटा सिएरा ईभी लामो रेन्ज, प्रिमियम डिजाइन र आधुनिक विद्युतीय प्रविधिमार्फत बजार समात्ने प्रयास गरिरहेको मोडल हो । चांगान नेभो क्यू-०५ भने तुलनात्मक रूपमा कम्प्याक्ट आकार, आकर्षक प्रविधि र प्रतिस्पर्धी मूल्यको सहयोगले धेरै उपभोक्ताको रोजाइमा पर्न खोजेको मोडल हो ।
एड्भेन्चर खोज्नेका लागि जेटोर टी-२
नेपाल प्रवेशको तयारीमा रहेको जेटोर टी-२लाई कम्पनीले एड्भेन्चर एसयूभीका रूपमा विकास गरेको छ । यसको डिजाइन परम्परागत अफरोड एसयूभीबाट प्रभावित छ । अग्लो बोनट, बक्सीजस्तो डिजाइन, ठूलो ह्विल आर्च र बलियो रोड प्रेजेन्स यसको मुख्य आकर्षण हुन् ।

नेपालमा आउने टी-२ पीएचईभी संस्करण अझ रोचक हुन सक्छ । अन्तर्राष्ट्रिय बजारमा उपलब्ध टी-२को प्लगइन हाइब्रिड प्रणालीमा १.५ लिटर टर्बो पेट्रोल इन्जिनसँग विद्युतीय मोटर प्रयोग गरिएको छ । विभिन्न संस्करणअनुसार ब्याट्री क्षमता २६.७ किलोवाट आवरदेखि ४३.२ किलोवाट आवरसम्म र विद्युतीय रेन्ज करिब १०० देखि १६१ किलोमिटरसम्म रहेको भएपनि नेपाल कुन आउँदैछ भन्ने जानकारी बाहिर आएको छैन ।
टी-२ को ठूलो पक्ष भनेको विद्युतीय ड्राइभिङ र पेट्रोल इन्जिनको संयोजन हो । त्योभन्दा पनि महत्वपूर्ण कुरा, टी-२को ग्राउण्ड क्लियरेन्स, ठूलो बडी र एड्भेन्चर केन्द्रित डिजाइन हो ।
प्रिमियम ईभीमा सिएरा उभ्याउने
टाटा मोटर्सका लागि सिएरा केवल अर्को इलेक्ट्रीक एसयूभी मात्रै होइन । यो कम्पनीको पुरानो र प्रतिष्ठित ‘सिएरा’ नामलाई विद्युतीय युगमा पुनर्जीवित गरिएको मोडल हो । नयाँ सिएरा ईभीलाई टाटाले प्रिमियम इलेक्ट्रीक एसयूभीका बजारमा ल्याउन लागेको हो ।

यसको सबैभन्दा ठूलो आकर्षण रेन्ज हो । टाटाले यसलाई दुई ब्याट्री अप्सनमा भारतमा बिक्री थालेको छ । जसमा ६३ र ७५ किलोवाट आवरको ब्याट्री दिइएको छ । सिएरा ईभीलाई सिंगल चार्जमा ६६५ किलोमिटरसम्म चलाउन सकिने कम्पनीको दाबी छ । साथै, सिएरा ईभीलाई १५ मिनेट चार्ज गर्दा २६३ किलोमिटरसम्म चलाउन सकिने बताइएको छ ।
यसको शक्तिशाली संस्करणमा डुअल मोटर र अल–ह्विल ड्राइभ प्रणाली उपलब्ध छ । नेपालमा कुन आउँछ भन्ने एकिन जानकारी प्राप्त भएको छैन । रियर ह्वील ड्राइभ मोडलमा १७५ किलोवाट र अल ह्वील ड्राइभ भेरियन्टमा २२५ किलोवाटको मोटर छ । यसको पीकटर्क ५०४ न्यूटन मिटर छ ।
सिएरा ईभीको अर्को बलियो पक्ष यसको क्याबिन र प्रविधि हो । ठूलो सनरुफ, मल्टिपल स्क्रिन, प्रिमियम अडियो, स्मार्ट पार्किङ तथा आधुनिक ड्राइभिङ असिस्ट सिस्टमजस्ता सुविधा यसमा उपलब्ध छन् । सिप्रदीले कायम गर्ने मूल्यले सिएराको भविष्य निर्धारण गर्ने देखिन्छ ।
क्यू०५ मास मार्केट कम्प्याक्ट एसयूभी
चाङ्गानको नेभो क्यू०५ भने सिएरा र जेटोर टी२ भन्दा फरक स्वादको एसयूभी हो । कम्प्याक्ट साइज, मोर्डन डिजाइन र सार्प लुक भएको कारण यसले उपभोक्तालाई आकर्षित गर्ने देखिन्छ ।
यसको लम्बाइ ४४३५ मिलिमिटर लामो, १८५५ मिलिमिटर चौडा र २७३५ मिलिमिटर ह्वीलबेस छ । बीवाइडी एटो थ्री एड्भान्सको मूल्य माथि गएको कारण ५५ लाखभन्दा कम मूल्यको सेग्मेन्टमा यसले बलियो उपस्थिति जनाउने अनुमान गर्न सकिन्छ ।
नयाँ पुस्ताको क्यू०५ एसयूभीमा ५१.९ किलोवाट आवरको एलएफपी ब्याट्री आउने छ । उक्त ब्याट्रीलाई ३० देखि ८० प्रतिशत चार्ज गर्न केबल १५ मिनेट मात्रै लाग्ने बताइएको छ ।
क्यू०५ को केबिनमा १५.६ इन्चको २.५के सेन्ट्रल डिस्प्ले, १०.१७ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर तथा आधुनिक कनेक्टेड प्रविधि प्रयोग गरिएको छ ।
तीन मोडल, तीन फरक ग्राहक
यी तीन मोडलको नेपाल आगमनले एउटा महत्वपूर्ण परिवर्तन देखाउँछ । अब नेपाली ग्राहकले एसयूभी किन्दा ‘पेट्रोल कि ईभी ?’ भन्ने प्रश्न मात्र गर्ने छैनन् । उनीहरूले कस्तो प्रयोगका लागि एसयूभी चाहिएको हो ? भन्ने आधारमा पनि छनोट गर्ने बाटो खुल्ला भएको छ ।
लामो दूरी, एड्भेन्चर र चार्जिङको सीमिततालाई ध्यानमा राख्ने ग्राहकका लागि टी-२ पीएचईभी आकर्षक हुन सक्छ ।
लामो रेन्ज, प्रिमियम अनुभव र पूर्ण विद्युतीय ड्राइभ खोज्ने ग्राहकका लागि सिएरा ईभी महत्वपूर्ण विकल्प बन्न सक्छ ।
त्यसैगरी नेपालको बाटो अनुसारको प्रयोग, आधुनिक डिजाइन, पर्याप्त रेन्ज र टेक्नोलोजी चाहने ग्राहकका लागि क्यू०५ बलियो प्रतिस्पर्धी बन्न सक्ने देखिन्छ ।
खासगरी इलेक्ट्रीक एसयूभीको बजारमा अहिले बीवाइडी, एमजी, दीपल, ओमोडा, आइकार, लिपमोटर, नामी लगायतका ब्राण्डबीच प्रतिस्पर्धा चलिरहेको अवस्था छ । त्यसमा क्यू०५ र सिएरा ईभीजस्ता नयाँ मोडल थपिँदा उपभोक्ताले बढी विकल्प पाउने भएका छन् ।
अर्कोतर्फ, टी-२ पीएचईभीले भने नेपाली बजारमा अर्को बहस सुरू गर्ने देखिन्छ । नेपालमा चार्जिङ पूर्वाधार विस्तार भइरहे पनि सबै ठाउँमा समान रूपमा सहज भइसकेको छैन । यस्तो अवस्थामा छोटो दूरीमा विद्युतीय मोटर र लामो यात्रामा पेट्रोल इन्जिन प्रयोग गर्न सकिने पीएचईभी प्रविधिले केही ग्राहकलाई आकर्षित गर्न सक्छ ।
यी तीनै मोडलको सफलता नेपालमा तोकिने मूल्य, आधिकारिक स्पेसिफिकेसन, वारेन्टी, स्पेयर पाट्र्स, सर्भिस नेटवर्क र चार्जिङ/आफ्टर सेल्स सर्भिस जस्ता कुराले निर्धारण गर्नेछ ।


