सकियो नाइमा मोबिलिटी एक्स्पो (फोटोफिचर)

काठमाडौं । नाइमा मोबिलिटी एक्स्पो २०२६ सम्पन्न भएको छ । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले साउन २६ गतेदेखि आयोजना गरेको एक्स्पोको दोस्रो संस्करण आइतबार समापन भएको हो ।

एक्स्पो सफलतापूर्वक सम्पन्न भएकोमा नाइमाका टिमले खुसियाली मनाएको थियो । नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्यले यो वर्षको मोबिलिटी एक्स्पो अत्यन्तै सफल भएको बताइन् ।

समापन कार्यक्रममा अध्यक्ष रितु सिंह वैद्यले ५५ भन्दा बढी ब्रान्ड सहभागी हुनु, १ लाख ८० हजारभन्दा बढीले अवलोकन गर्नु तथा ५३ वटा नयाँ उत्पादन सार्वजनिक हुनु नै यस एक्स्पोको ठूलो उपलब्धि भएको बताइन् ।

‘यो एक्स्पो कुनै एक व्यक्ति वा संस्थाको मात्र सफलता होइन, नेपालको सम्पूर्ण मोबिलिटी उद्योगको सामूहिक सफलता हो, म सबै सहभागीलाई हार्दिक धन्यवाद भन्न चाहन्छु,’ उनले भनिन्, ‘एक्स्पोमा नयाँ सवारीसाधन र प्रविधि प्रदर्शनसँगै ज्ञान र सिकाइलाई पनि प्राथमिकता दिएका थियौँ, एक्स्पो सवारी साधन प्रदर्शन गर्नेमात्र नभएर ज्ञान सिर्जना गर्ने प्लेटफर्म पनि बन्नुपर्छ भन्ने हाम्रो विश्वास हो ।’

उनले आगामी दिनमा अझ ठूलो, अझ राम्रो र अझ बलियो भएर अघि बढ्ने लक्ष्य रहेकाे बताइन् ।

नाइमाका बोर्ड सदस्य क्याबिनेट श्रेष्ठले नाइमा एक्स्पोमा यति ठुलो संख्यामा मानिसको आगमन हुनु सुखद संकेत भएको बताए । ’नाइमा एक्स्पो सबै हिसाबले सफल भएको छ,’ उनले भने, ’अटो इन्डस्ट्रीकै लागि यो खुसीको विषय हो ।’

उनले एक्स्पोमा उपभोक्ताले चासोका साथ एक्स्पो भ्रमण गरेको बताइन् । साथै, उत्साहजनक बुकिङले अटो बजारको सकारात्मक मनोविज्ञानलाई प्रतिबिम्बित गरेको उनको भनाइ थियो ।

आधिकारिक तथ्यांक नआए पनि एक्स्पोमा करिब ४ हजार बढी सवारी साधन बुकिङ भएको बताइएको छ ।

६ दिनसम्म चलेको एक्स्पोमा दुईपाँग्रे, चारपाँग्रे र कमर्शियल गरी ५५ ब्राण्डले सहभागिता जनाएका थिए । एक्स्पोमा ५३ वटा नयाँ मोडल लन्च भएका थिए ।

नाइमाले एक्स्पो अवधिभर हरेक दिन विभिन्न शिर्षकमा संवाद कार्यक्रम समेत गरेको थियो ।

 


Back_to_top