काठमाडौं । अर्को साता (भदौ ९ गते)देखि काठमाडौंको भृकुटीमण्डपमा १८ औं संस्करणको ‘नाडा अटो शो २०२६’ आयोजना हुने भएको छ । नाइमा मोबिलिटी एक्स्पो सम्पन्न भएको एक सातापछि नै दोस्रो अटो शो हुन् लागेको हो ।
नाडाले ५० औं वर्ष पूरा गरेको अवसरमा यस वर्षको अटो शोलाई झन् विशेष र भव्य बनाउने बताएको छ ।
यस वर्षको नाडा अटो शोमा दुईपाँग्रे, चारपाँग्रे र कमर्शियल गरी ५१ ब्राण्डले सहभागिता जनाउँदै छन् । जसमा कार ब्राण्ड मात्रै २२ वटा रहेका छन् ।
यसअघि नाइमा मोबिलिटी एक्स्पोमा सहभागी भएका ब्राण्डहरू समेत नाडा अटो शोमा सहभागी हुँदैछन् । दुईटै अटो शोमा सहभागी हुँदा व्यापार बढाउन सकिने भएकाले बिक्रीहरूले दुवैतर्फ सहभागी भएका हुन् ।
नाडका अनुसार यस वर्ष अटो शोमा रिडारा, आयोन, जेएमईभी, टाटा (ईभी), सुजुकी, दीपल, अभतार, फोटोन, स्कोडा, नामी, चांगन, प्रोटोन
बीवाईडी, जिली, बीएडब्ल्यू नेपाल, ओमोडा, जेको, जेटोर, एमजी (पारामाउन्ट मोटर्स), जीडब्ल्यूएम, लीपमोटर, एमहिरो र स्काइवेल सहभागी हुँदैछन् ।
यी बाहेक पनि नाइमा स्टल लिएका घरानाले आफूसँग भएका अरू ब्राण्डका कार पनि प्रदर्शनी गर्ने बताइएको छ । वुलिङ, चेरी लगायत ब्राण्डले पनि सहभागिता जनाउने सम्भावना छ ।
त्यस्तै, नाडामा १७ लाइट कमर्शियल ब्राण्डले सहभागिता जनाउँदै छन् । जसमा फोटोन, सोकन, किङलङ, हाइगर, फारिजोन, जिनबेई, टाटा मोटर्स कमर्सियल भेइकल्स, डीएफएसके, कामा, न्यू गोनो अटो, ओकवेल, दीगो, स्काईवर्थ ईभी, डोङफेङ, कावेल अटो, फेइदी र एकता मोटर्स रहेका छन् ।
त्यस्तै, दुईपाँग्रेतर्फ रोयल इन्फिल्ड, यात्री, हिरो, भिडा, यामाहा रेसिङ, भेस्पा/एप्रिलिया, एम्पियर, मेटाईभी र रिभोल्ट सहभागी हुँदैछन् ।
नाइममा १ दर्जन बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूले भाग लिँदैछन् । नबिल, एनआईसी एशिया, लक्ष्मी सनराइज, प्रभु, कुमारी, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे, ग्लोबल आईएमई, महालक्ष्मी विकास बैंक, शिखर इन्स्योरेन्स र गोर्खाज फाइनान्सको स्टल रहने छन् ।
बैंक तथा वित्तीय संस्थाहरूले अटो शोमा सवारी किन्नेलाई लक्षित गर्दै सस्तो ब्याजदरको आकर्षक कर्जा स्किम ल्याउँदैछन् ।
यी बाहेक टायर, लुब्रिकेन्ट, स्पेयर पार्टस लगायत दर्जनौं अटो कम्पनेन्ट कम्पनीहरू सहभागी हुने छन् ।


