काठमाडौं । नेपाली कार बजारमा सबैभन्दा चर्को प्रतिस्पर्धा एसयूभी सेग्मेन्टमा भइरहेको छ । कुल कार बजारको करिब ६५ प्रतिशत हिस्सा एसयूभीकै छ ।
यस सेग्मेन्टमा २ दर्जन बढी मोडल प्रतिस्पर्धा गरिरहेका छन् । यही रेसमा कडा टक्कर दिन एमएडब्लू वृद्धिले नयाँ एसयूभी दीपल निभो क्यू ०५ भित्र्याउने भएको छ ।
कम्पनीले यही भदौ ९ गतेदेखि सुरू हुने नाडा अटो शो २०२६ मा दीपल क्यू ०५ एसयूभी सार्वजनिक गर्ने भएको हो ।
आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि, प्रिमियम फिचर र ठूलो साइजको भएकाले क्यू ०५ ले आफ्नो सेग्मेन्टमा बलियो प्रतिस्पर्धीको रुपमा आउँदै छ । अझ कम्पनीले निर्धारण गर्ने मूल्यले यसको दाबेदारीलाई बलियो बनाउने छ ।
नेभो क्यू ०५ एसयूभीले ब्याट्री प्याक अनुसार ४०५ किलोमिटर र ५०६ किलोमिटर सीएलटिसी रेन्ज दिन्छ । यसको ३ सी चार्जिङ प्रणालीले उपयुक्त अवस्थामा १६२ किलोवाटसम्मको डीसी पावर लिन सक्छ । चांगानका अनुसार ३० देखि ८० प्रतिशत चार्ज हुन करिब १५ मिनेट लाग्छ।

अर्को बलियो पक्ष भनेको स्पेस हो । यसलाई कम्प्याक्ट एसयूभीमा राखिए पनि क्यू०५ को ह्वीलबेस २७३५ एमएम छ । जसले यो एसयूभीलाई स्पेसियस र परिवारमैत्री बनाउँछ । क्याबिनमा १४.६ इन्चको सेन्ट्रल टचस्क्रीन डिजिटल अनुभवको मुख्य केन्द्र बन्छ । साथै डिजिटल ककपिट, इन्टेलिजेन्स कनेक्टिभिटी, सराउन्ड भ्यु टेक्नोलोजी तथा कम्फर्ट फोकस्ड इन्टेरियर छ ।
यसको डिजाइन अटोमोबाइल जगतका चर्चित व्यक्तित्व क्लाउस जाइसोरियोले गरेका हुन् । जो बिएमडब्लूका पूर्व हेड अफ डिजाइन हुन् । क्यू०५ प्रोपर्सन, सिग्नेचर लाइट र आधुनिक एसयूभी आकृतिले यसलाई बजारमा उपलब्ध कारभन्दा भिन्न देखाउँछ । हालै यो कारले प्रतिष्ठित गोल्ड ए डिजाइन अवार्ड जितेको थियो ।
नेपालमा कम्प्याक्ट ईभी किन्दा ग्राहकले प्रायः सजिलै चलाउन मिल्ने आकार, पारिवारिक ठाउँ र छिटो चार्जिङमध्ये सम्झौता गर्नुपरेको छ । नेपालको क्यू ०५ मा यी पुष्टि गरिएका मुख्य विशेषता कायम रहे भने ग्राहकले एउटै फिचर होइन, पूरै प्याकेज तुलना गर्न पाउनेछन्।


