ईभीदेखि प्लगइन हाइब्रिडसम्म, नेपाली बजारमा जीडब्लूएमको आक्रामक विस्तार

काठमाडौं । चिनियाँ अटोमोबाइल कम्पनी ग्रेट वाल मोटर्स (जीडब्लूएम)ले नेपाली बजारमा विद्युतीय र हाइब्रिड एसयूभीको दायरा विस्तार गर्दै आफ्नो उपस्थितिलाई थप बलियो बनाउने रणनीति अघि सारेको छ ।

लामो समय हाभलका एसयूभी, पिकअप र ओरा-३ विद्युतीय कारमा केन्द्रित रहेको जीडब्लूएम नेपालले पछिल्लो समय छोटो अन्तरालमै नयाँ विद्युतीय मोडल थप्दै बजारमा आक्रामक विस्तारको संकेत दिएको हो ।

नेपालमा जीडब्लूएमका उत्पादनको आधिकारिक वितरण भीजी इम्पेक्सले गर्दै आएको छ । कम्पनीले पछिल्लो समय ओरा-५ र हाभल जोलियन म्याक्स ईभीमार्फत विद्युतीय एसयूभी बजारमा आफ्नो दायरा फराकिलो बनाएको छ । यससँगै ओरा-३ लाई कम मूल्यको विद्युतीय विकल्पका रूपमा निरन्तरता दिँदा कम्पनीसँग फरक मूल्य तह र ग्राहक समूहलाई लक्षित गर्ने तीनवटा विद्युतीय उत्पादन भएका छन् ।

जीडब्लूएमको यो रणनीतिमा ओरा-३ ‘इन्ट्री लेभल’ मोडल बनेको छ । ओरा-३ मा ४७.७८८ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री छ । यसमा ९९ किलोवाट क्षमता विद्युतीय मोटर छ । उक्त मोटरले २१० न्युटन मिटर टर्क उत्पादन गर्छ ।


कम्पनीका अनुसार सिंगल चार्जमा ३५० किलोमिटर हाराहारी रेन्ज यसले दिन्छ । ओरा-३ को मूल्य पनि पछिल्लो समय क्रमशः घट्दै आएको छ । सुरूवाती चरणमा ४७ लाख ४९ हजार रुपैयाँ तोकर बिक्री सुरू भएको ओरा-३ अहिले ३९ लाख ९९ हजार रुपैयाँमै किन्न पाइन्छ । यसले जीडब्लूएमलाई ४० लाख रुपैयाँ आसपासको विद्युतीय कार बजारमा पनि प्रतिस्पर्धी बनाएको छ ।

अघिल्लो महिना मात्रै नेपालमा लन्च भएको ओरा ५ कम्पनीको आक्रमक बजार विस्तार गर्ने रणनीतिको मुख्य हतियार देखियो । ५८.३ किलोवाट आवर क्षमताको ब्याट्री र १०० किलोवाट विद्युतीय मोटर रहेको ओरा-५ मा २६० न्युटन मिटर टर्क पाउन सकिन्छ ।

एसयूभी डिजाइन, २०० एमएम अग्लो ग्राउण्ड क्लियरेन्स, ५४० डिग्री क्यामेरा, ग्लास रुफ यसमा पाउन सकिन्छ । आरामदायी यात्रालाई ध्यानमा राखेर तयार भएको ओरा ५ को सस्पेन्सन सेटअप पनि निकै राम्रो छ ।


कम्पनीले ओरा-५ को मूल्य ४८ लाख ४९ हजार र ५३ लाख ९९ हजार तोकेर बिक्री थालेपनि सुरूवाती अफर मूल्य भन्दै १०० युनिट ४६ लाख ९९ हजार र ५१ लाख ९९ हजार रुपैयाँमै उपलब्ध गराएको थियो ।

लामो रेन्ज, पर्याप्त ब्याट्री क्षमता र प्रिमियम सुविधासहितको एसयूभी भएको कारण जीडब्लूएमले ठूलो ग्राहक समूहलाई लक्षित गरेको देखिन्छ ।

ईभी लाइनअपमा थप बलियो बन्न जीडब्लूएमले हाभल जोलियन म्याक्स ईभी ल्याएको छ । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक गरिएको यो मोडलमा पनि ओरा-५ कै जस्तो ५८.३ किलोवाट आवर ब्याट्री छ । यसमा मोटर भने १५० किलोवाटको पाउन सकिन्छ ।


जोलियन म्याक्स ईभीमा १९० एमएम अग्लो ग्राउण्ड क्लियरेन्स छ । यसको मूल्य भने ५९ लाख ९९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

ओरा ५ र जोलियन म्याक्सबीचको मुख्य भिन्नता पनि यहीँ देखिन्छ । दुवैमा ५८.३ किलोवाट आवर ब्याट्री भए पनि जोलियन म्याक्सको मोटर क्षमता १५० किलोवाट छ । जुन ओरा ५ को १०० किलोवाटभन्दा उल्लेख्य रूपमा बढी हो । यसले जोलियन म्याक्सलाई बढी शक्तिशाली, ठूलो र प्रिमियम विद्युतीय एसयूभी खोज्ने ग्राहकका लागि लक्षित उत्पादन बनाएको छ ।

जीडब्लूएमको रणनीति भने विद्युतीय गाडीमै सीमित छैन । ट्यांक ३०० र ट्यांक ५०० जस्ता प्रिमियम तथा बलिया एसयूभीमार्फत कम्पनीले उच्च मूल्यको बजारमा आफ्नो उपस्थिति बनाइसकेको छ । अब हाभल एच ७ प्लगइन हाइब्रिडमार्फत विद्युतीय र पेट्रोल दुवै प्रविधिलाई संयोजन गर्ने ग्राहक समूहमा प्रवेश गर्ने तयारीले कम्पनीको उत्पादन रणनीति अझ फराकिलो हुने देखिन्छ ।
यसरी हेर्दा जीडब्लूएमले नेपाली बजारमा एउटै प्रकारका ग्राहकलाई लक्षित गरिरहेको छैन । ओरा-३ले ४० लाख रुपैयाँ आसपासको प्रवेश बजार समात्ने छ । ओरा-५ले करिब ५० लाख रुपैयाँको विद्युतीय एसयूभी बजारमा प्रतिस्पर्धा गर्ने र जोलियन म्याक्सले ६० लाख रुपैयाँ आसपासको बढी शक्तिशाली तथा प्रिमियम एसयूभी बजारमा स्थान बनाउने देखिन्छ ।

त्यसमाथि ट्यांकका प्रिमियम एसयूभी र आगामी हाभल एच-७ प्लगइन हाइब्रिड जोडिँदा जीडब्लूएमको नेपाली बजार रणनीति अझ स्पष्ट हुन्छ । सस्तोदेखि प्रिमियमसम्म, पूर्ण विद्युतीयदेखि प्लगइन हाइब्रिडसम्म र सहरी प्रयोगदेखि बलिया एसयूभीसम्म आफ्ना उत्पादन फैलाउने रणनीतिमा ग्रेटवाल मोटर्स कति सफल हुन्छ, त्यो हेर्न भने केही समय कुर्नै पर्ने हुन्छ ।


Back_to_top