काठमाडौं । टोखा-छहरे सडकखण्डमा रातिको समयमा सवारी आवागमनमा पूर्ण रूपमा रोक लगाइएको छ ।
लगातारको वर्षाका कारण सडकमा पहिरो तथा गेग्रान खस्ने जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय नुवाकोटले सूचना जारी गर्दै रातिमा सवारी चलाउन रोक लगाइएको जानकारी गराएको हो ।
प्रशासनका अनुसार नुवाकोटको शिवपुरी गाउँपालिका-८ घट्टेखोला क्षेत्रमा अचानक लेदोसहितको पहिरो आई सडक अवरुद्ध हुने जोखिम बढेकाले अर्को सूचना जारी नभएसम्म राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गरिएको हो ।
प्रशासनले उक्त सडकमा निजी र सार्वजनिक सवारी संचालनमा रोक लगाएको हो । यद्यपि, सडक खण्डमा एम्बुलेन्स, दमकल र सुरक्षा निकायका सवारी साधन जस्ता अत्यावश्यक सेवाका सवारी साधन भने संचालन हुनेछन् ।
साथै, प्रशासनले वर्षाका समयमा अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कन, रातिको समयमा उक्त सडकखण्ड हुँदै यात्रा नगर्न सबैमा अनुरोध गरेको छ ।


