काठमाडौं । टाटा मोटर्सको चर्चित एसयूभी सिएरा ईभी नेपाल आइपुगेको छ । नेपालका लागि टाटाको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले सिएरा ईभी नेपाल भित्र्याएको हो ।
कम्पनीका अनुसार सिएरा ईभी यही भदौ ९ गतेदेखि सुरु हुने नाडा अटो शो २०२६ मा सार्वजनिक गरिने छ ।
सिएरा ईभी भारतमा ६३ र ७५ किलोवाट आवरको दुई ब्याट्री अप्सनमा उपलब्ध छ । कम्पनीले नेपाल दुवै वा एक मात्र ब्याट्री अप्सनमा ल्याएको भन्ने खुलाएको छैन । सिएरा ईभीलाई सिंगल चार्जमा ६६५ किलोमिटरसम्म चलाउन सकिने कम्पनीको दाबी छ । साथै, सिएरा ईभीलाई १५ मिनेट चार्ज गर्दा २६३ किलोमिटरसम्म चलाउन सकिने बताइएको छ ।
सिएरा ईभीको रियर ह्वील ड्राइभ मोडलमा १७५ किलोवाट र अल ह्वील ड्राइभ भेरियन्टमा २२५ किलोवाटको मोटर छ । यसको पीकटर्क ५०४ न्यूटन मिटर छ ।

एसयूभीको अगाडिको डिजाइन सबै भेरियन्टमा उस्तै छ । अगाडि फुल एलईडी लाइटबार, प्रोजेक्टर एलईडी हेडल्याम्प, फ्लस टाइप डोर ह्याण्डल, सिग्नेचर सिएरा रियर क्वाटर ग्लास, १८ इन्चको ह्वील, रुफ स्पोइलर, शार्क फिन एन्टेना र अल्ट्रा गाइड सस्पेन्सन दिएको छ । पछाडिको सस्पेन्सन इन्डिपेन्डेन्ट हो । यसमा फ्रिक्वइन्सी डिपेन्डेन्ट डम्पीङ प्रविधि प्रयोग गरिएको कम्पनीले जनाएको छ ।
टाटा मोटर्सले यसको इन्ट्री भेरियन्टमा भ्वाइस असिस्टेड प्यानोरामिक सनरुफ प्रयोग गरेको छ । उच्च ग्राउन्ड क्लियरेन्स, बक्सी डिजाइन र आकर्षक लुकमा उपलब्ध एसयूभीको क्याविन पनि फिचर लोडेड नै देखिन्छ ।
एक्टी डट ईभी प्लेटफर्ममा बनेको सिएराको क्याबिन डुअल टोन थीममा बनेको छ । १२.३ इन्चको टचस्क्रिन इन्फोटेन्टमेन्ट सिस्टम, १०.२५ इन्चको इन्फर्मेशन डिस्प्ले, ८ स्पीकर, अटोमेटीक क्लाइमेट कन्ट्रोल, वायरलेस एन्ड्रोइड अटो, स्टेयरिङ माउन्टेड कन्ट्रोल, किलेस इन्ट्री जस्ता फिचर पाउन सकिन्छ ।
यसमा आइआरए डट ईभी कनेक्टेड कार सुइट दिइएको छ । यसमा ७० भन्दा बढी स्मार्ट कनेक्टेड फिचर छन् । फाइभ जी कनेक्टीभिटी उपलब्ध कारमा वायरलेस चार्जिङ, १५ वटा मल्टिमिडिया पाउन सकिन्छ ।
टाटाले सुरक्षा फिचरमा पनि सम्झौँता गरेको छैन । कम्पनीले ६ एयरब्याग, इलेक्ट्रोनिक्स स्टेबिलिटी प्रोग्राम भित्र १९ फिचर राखेको छ । सबै चक्कामा डिस ब्रेक प्रयोग भएको एसयूभीमा रियर पार्किङ सेन्सर, डाइनामिक गाइड लाइन सहितको रियर क्यामेरा पनि बेस भेरियन्टमै पाउन सकिन्छ ।


