ब्याट्री उत्पादन गर्दा ‘कार्बन उत्सर्जन’ शून्य गर्ने सीएटीएलको घोषणा

काठमाडौं । विश्वकै ठूलो ब्याट्री उत्पादक कम्पनी सीएटीएलले सन् २०३५ सम्ममा आफ्नो सम्पूर्ण ब्याट्री उत्पादन गर्दा कार्बन उत्सर्जनलाई शून्यमा झार्ने योजना अगाडि बढाएको छ ।

कम्पनीले यसअघि सन् २०२५ को अन्त्यसम्म आफ्ना मुख्य प्लाण्टहरूमा कार्बन उत्सर्जन गर्ने घोषणा गरेको थियो । उक्त घोषणा पूरा भएको कम्पनीले जनाएको छ ।

कम्पनीले सन् २०२३ मा सुरू गरेको शून्य-कार्बन रणनीतिअन्तर्गत सन् २०२५ सम्म मुख्य संचालन र सन् २०३५ सम्म सम्पूर्ण ईको सिस्टमलाई कार्बन न्यूटल बनाउने लक्ष्य राखेको थियो । सन् २०२५ को अन्त्य तिर सीएटीएलका २० वटा ब्याट्री प्लाण्टले शून्य कार्बन उत्सर्जन गर्ने कारखानाका रूपमा ‘आईएसओ १४०६८-१’ प्राप्त गरेको छ ।

कम्पनीले मुख्य काममा प्रयोग गर्ने विद्युत् पूर्णत शून्य कार्बन स्रोतबाट प्राप्त भएको जनाइएको छ । सीएटीएलले सन् २०२५ मा ७४८ गिगावाट आवर ब्याट्री उत्पादन गरेको थियो ।

सन् २०२२ देखि २०२५ सम्म कम्पनीको लिथियम-आयन ब्याट्री बिक्री २.३ गुणाले वृद्धि भएको छ । उत्पादन विस्तारसँगै कार्बन उत्सर्जन घटाउन कम्पनीले सन् २०२२ देखि ‘सीएटीएल कार्बन चेन’ व्यवस्थापन प्रणाली प्रयोग गर्दै आएको छ ।

सन् २०२३ यता सीएटीएलले १८ अर्ब किलोवाट आवरभन्दा बढी क्लिन इनर्जी प्रयोग गरेको जनाएको छ । सीएटीएलको प्रतिइकाई ऊर्जा खपत सन् २०२२ को तुलनामा २८ प्रतिशत घटेको छ । कार्बन उत्सर्जनको तीव्रता दुई वर्षमा करिब ७७ प्रतिशतले घटेको कम्पनीको दाबी छ । यस अवधिमा १ करोड टनभन्दा बढी कार्बनडाइअक्साइड बराबरको उत्सर्जन घटाइएको सीएटीएलको दाबी छ ।

सीएटीएलका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत रोबिन जेङले शून्य कार्बनलाई केवल कम्पनीको जिम्मेवारी नभई नयाँ प्रविधि र विकासको ठूलो अवसरका रूपमा लिएको बताए ।

कम्पनीको उत्पादनको क्रममा हुने कार्बन उत्सर्जनमध्ये ८० प्रतिशतभन्दा बढी आपूर्ति शृंखलाबाट आउने गरेको छ । आपूर्ति शृंखलाबाट हुने उत्सर्जन कम्पनीको उत्पादनबाट हुने उत्सर्जनभन्दा पाँच गुणाभन्दा बढी रहेको छ ।

यसलाई घटाउन कम्पनीले खानी उत्खननदेखि कच्चा पदार्थ प्रशोधन, सामग्री उत्पादन र विद्युतीय अवयव निर्माणसम्म कार्बन तथ्यांक पहिचान गर्ने प्रणाली विकास गरेको छ । हालसम्म १०० भन्दा बढी प्रमुख आपूर्तिकर्ताको कार्बन तथ्यांक संकलन भइसकेको कम्पनीले जनाएको छ ।

सन् २०३५ सम्म कच्चा पदार्थ अनुसन्धान, उत्पादन, ढुवानी तथा ब्याट्री पुनःप्रयोगलाई प्राथमिकतामा राख्दै उत्सर्जन घटाउने योजना अघि सारिएको छ ।


Back_to_top