काठमाडौं । हिरोको एड्भेन्चर सेग्मेन्टमा आधारित जुम १६० स्कुटरको नेपाली बजारमा अर्को सातादेखि बिक्री सुरू हुने भएको छ ।
नेपालका लागि हिरोको आधिकारिक बिक्रेता सीजी मोटर्सले आगामी भदौ ९ गतेदेखि सुरू हुने नाडा अटो शोमा जुम १६० स्कुटर सार्वजनिक गर्ने भएको हो ।
कम्पनीले गत वर्षको नाडा अटो शोमा प्रदर्शन गरेको नयाँ हिरो जुम १६० एड्भेन्चर स्कुटर अब नेपालमा बिक्रीका लागि उपलब्ध गराउने भएको हो ।
कम्पनीले आफ्नो सोसल मिडिया मार्फत नयाँ एड्भेन्चर स्कुटर आउने जानकारी दिएको हो । स्पोर्टी एड्भेन्चरसँगै म्याक्सि डिजाइनमा रहेका जुम १६० स्कुटरमा १५६ सीसी, लिक्वीड कुल्ड, फोर भल्ब, सिंगल सिलिण्डर, एसओएचसी, एफआई इन्जिन रहेको छ । यस इन्जिनले अधिकतम ८००० आरपीएममा १४.६ ब्रेकहर्स पावर र ६५०० आरपीएममा १४ एनएम टर्क जेनेरेट गर्छ ।
स्कुटरमा आई ३ एस साइलेन्ट टेक्नोलोजी, डुअल चेम्बर एलईडी हेडलाइट सेटअप, फुल्ली डिजिटल ड्यास बोर्ड, ब्लुटुथ कनेक्टिभिटी, टीबीटी नेभिगेसन, स्मार्ट की, सीभीटी ट्रान्समिसन सिस्टम, डिस्कब्रेक, एबीएस, चार्जिङ पोर्ट लगायतका फिचरहरू पाइन्छ ।
साथै, फ्रन्टमा टेलिस्कोपिक हाइड्रोलिक सक अब्जर्बार र रियरमा ट्वीन सक अब्जर्बार सेटअप, १४ इन्चको अलोय ह्वीलसँगै डुअल पर्पस ट्युबलेस टायर, रिमोट सिस्टम सीट, अग्लो विण्डसिल्ड एण्ड टुरिङ एसेसरिज सेटअप दिइएको छ ।


