चीनबाट ईभी ल्याउन कोरला नाकाकै भर, साउनमा भित्रिए १०० युनिट

फाइल तस्बिर

काठमाडौं । वर्षायाममा चीनबाट विद्युतीय सवारी साधन (ईभी) आयात गर्न मुस्ताङस्थित कोरला नाकाकै भर पर्नुपर्ने बाध्यता भएको छ ।

बाढिपहिरोका कारण तातोपानी र रसुवागढी नाका अवरुद्ध भइरहने भएकाले व्यवसायीले विकल्पमा कोरलाबाट ल्याउन थालेका हुन् ।

तातोपानी नाका पहिराको कारण १ महिनादेखि बन्द छ भने रसुवागढी पनि पटक पटक अवरुद्ध हुँदै आएको छ । साउन र भदौमा दुई अटो शो र लगत्तै दशैं,तिहार जस्ता चाडपर्वलाई लक्षित गर्दै व्यवसायीले यति बेला धमाधम गाडी आयात गर्छन् ।

तर, नियमित गाडी ल्याउने रसुवागढी र तातापानी अवरुद्ध भएपछि यस वर्ष पनि व्यवसायीले कोरला हुँदै ल्याउन थालेका हुन् । तुलनात्मक रुपमा कोरलाबाट गाडी आयात गर्दा लागत बढी पर्ने भए पनि बाध्यात्मक विकल्पमा त्यहाँबाट ल्याउन थालेका हुन् ।

मुस्ताङ भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको पहिलो महिना (साउन)मा मात्रै कोरलाबाट १०० युनिट बढी विद्युतीय सवारी नेपाल भित्रिएका छन् । गत जेठमा बजेट अघि पनि कोरला हुँदै ७०० युनिट बढी ईभी आयात भएको थियो ।

भन्सार प्रमुख विदुर चुडालका अनुसार हाल कोरला नाका हुँदै दैनिक १० वटा कन्टेनरको भन्सार जाँचपास भइरहेको छ । यो महिना ईभी र अन्य सामग्री आयातबाट २९ करोड राजस्व प्राप्त भएको उनले बताए ।

व्यवसायीहरूले अटो शोमा धमाधम गाडी बुकिङ लिइरहेको र अरु सडक अझै भरपर्दौ नभएकाले आगामी दिनमा आयात झन् बढ्ने आकलन छ ।

गत आवमा कोरला हुँदै करिब ३ हजार युनिट ईभी आयात भएको थियो । गत आवमा ६ अर्ब ९२ करोड रूपैयाँ राजस्व संकलन भएको थियो।


Back_to_top