काठमाडौं । मंगलबारदेखि सुरू हुने नाडा अटो शो २०२६ मा आधा दर्जन बढी नयाँ मोडल सार्वजनिक हुँदैछन् । यहाँ केही दिन अगाडि बजारमा आएका करिब एक दर्जन नयाँ मोडल पनि शोकेस गर्न लागिएको छ ।
ठूलो संख्यामा नयाँ मोडल प्रदर्शनीमा रहने भए पनि टाटा सिएरा ईभी र नेभो क्यू-०५ सबैभन्दा धेरै चासो भएको मोडल हो । यी दुवै एसयूभी नेपाल आइसकेका छन् ।
आइतबार साँझ मात्रै नेभो क्यू-०५ को आधिकारिक मूल्य घोषणा भएर बिक्रीको लागि उपलब्ध भइसकेको छ । यो अटो शोमा धेरैको चासो हुने मोडल हुन सक्छ ।
त्यसैगरी काठमाडौं आइसकेको टाटा सिएरा अर्को बहुप्रतिक्षित मोडल हो । भारतीय निर्माताले उत्पादन गरेको मोर्डन डिजाइन र आधुनिक फिचर लोडेड सिएरा ईभी नेपाली सडक सुहाउँदो एसयूभी हो । त्यसैले धेरै उपभोक्ताले यसलाई कुरेर बसेका छन् ।
बजारमा आउँदै गरेका यी दुई एसयूभीले अलग सेग्मेन्टमा प्रतिस्पर्धा गर्नेछन् । त्यसैले यी दुई उत्पादनका बारेमा हामीले यहाँ चर्चा गरेका छौं ।
निभो क्यू-०५
चांगान ग्रुप अन्तर्गतको नेभो क्यू-०५ एसयूभी दुई भेरियन्टमा नेपालमा बिक्री सुरू भएको छ । कम्पनीले म्याक्स भेरियन्टको मूल्य ४६ लाख ९९ हजार र अल्ट्रा भेरियन्टको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकेको छ । यद्यपि, यो मूल्य नाडा अटो शो अवधिसम्म मात्र लागू हुनेछ । नाडा अवधि सकिएपछि भने म्याक्स भेरियन्टको मूल्य ४८ लाख ९९ हजार र अल्ट्राको ५१ लाख ९९ हजार रुपैयाँ कायम हुने कम्पनीले जनाएको छ ।

नेभो क्यू ०५ एसयूभीमा ५१.९ किलोवाट आवरको गोल्डेन शिल्ड २.० एलएफपी ब्याट्री प्याक छ । यसले सिंगल चार्जमा ४०० किलोमिटर माथि रेन्ज दिनेछ । यसमा रहेको ब्याट्रीलाई १६२ किलोवाटको डीसी फास्ट चार्जर सपोर्ट गर्छ ।
चांगनको अत्याधुनिक ‘डिजिटल विङ २.०’ डिजाइन ल्याङ्ग्वेजमा आधारित नेभो क्यू ०५ आधुनिक, स्लिक र फ्युचरिस्टिक छ । यसको अगाडि स्लीक फुल विथ स्टार रिङ एलईडी लाइट स्ट्रिप, म्याट्रिक्स हेडलाइट्स र क्लोज ग्रिल दिइएको छ । जसले यसलाई निकै आक्रामक र आधुनिक लुक दिन्छ । साइडमा फ्वोङि क्यारेक्टर लाइनहरू, एरोडाइनामिक ह्वील आर्च छ भने पछाडि जोडिएको एलईडी टेललाइट बार प्रयोग गरिएको छ ।
१८५ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स भएको नेभो क्यू ०५ को लम्बाइ ४४३५ एमएम, चौडाइ १८५५ एमएम र उचाइ १६०० एमएम छ । यसमा २७३५ मिलिमिटर ह्वीलबेस पाउन सकिन्छ ।
यसमा १२० किलोवाटको इलेक्ट्रीक मोटर छ । जसले १६३ हर्ष पवार तथा १९० न्युटन मिटर टर्क प्रदान गर्छ । यसले शून्यदेखि १०० किमी प्रतिघण्टाको स्पीड भेटाउन ८.२ सेकेण्ड लगाउँछ ।
क्यू ०५ को क्याबिन निकै आकर्षक र प्रिमियम छ । यसमा १४.६ इन्चको सेन्ट्रल डिस्प्ले र १०.१७ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर उपलब्ध छ । यसमा एप्पल कार प्ले/एण्डड्रोइज अटो, ५० वाटको वायरलेस चार्जिङ, ब्युल्ट इन ड्यासक्याम, थ्रीडी ५४० डिग्री क्यामेरा, मोबाइलबाटै चल्ने कनेक्टिभिटी सिस्टम, ब्लुटुथ की, ओटीए, २५६ किसिमको एम्बियन्ट लाइट छ ।
नेभो क्यू ०५ मा सुरक्षाका लागि ६ वटा एयर ब्याग, ५४० डिग्री क्यामेरा, १८ बढी सुविधा भएको लेभल २ एडास फिचर छ ।
टाटा सिएरा ईभी
सिप्रदी ट्रेडिङले टाटा सिएरा ईभी नेपाल ल्याइसकेको छ । तर, यसको आधिकारिक फिचर र मूल्य भने नाडा अटो शोमा आगामी मंगलबार हुनेछ ।

भारतीय बजारमा सिएरा ईभी ६३ र ७५ किलोवाट आवरको दुई ब्याट्री अप्सनमा बिक्री भइरहेको छ । नेपालमा कुन साइजको ब्याट्रीमा आएको हो भन्ने खुलाइएको छैन ।
सिएरा ईभीको रियर ह्वील ड्राइभ मोडलमा १७५ किलोवाट र अल ह्वील ड्राइभ भेरियन्टमा २२५ किलोवाटको मोटर छ । यसको पीकटर्क ५०४ न्यूटन मिटर छ । सम्भवतः रियर ह्वील मोटरमै सिएरा ईभी नेपाल आउने छ ।
एसयूभीको अगाडि फुल एलईडी लाइटबार, प्रोजेक्टर एलईडी हेडल्याम्प, फ्लस टाइप डोर ह्याण्डल, सिग्नेचर सिएरा रियर क्वाटर ग्लास, १८ इन्चको ह्वील, रुफ स्पोइलर, शार्क फिन एन्टेना र अल्ट्रा गाइड सस्पेन्सन दिएको छ । पछाडिको सस्पेन्सन इन्डिपेन्डेन्ट हो । यसमा फ्रिक्वइन्सी डिपेन्डेन्ट डम्पिङ प्रविधि प्रयोग गरिएको कम्पनीले जनाएको छ ।
टाटा मोटर्सले यसको इन्ट्री भेरियन्टमा भ्वाइस असिस्टेड प्यानोरामिक सनरुफ प्रयोग गरेको छ । उच्च ग्राउण्ड क्लियरेन्स, बक्सी डिजाइन र आकर्षक लुकमा उपलब्ध एसयूभीको क्याबिन पनि फिचर लोडेड नै देखिन्छ ।
एक्टी डट ईभी प्लेटफर्ममा बनेको सिएराको क्याबिन डुअल टोन थीममा बनेको छ । १२.३ इन्चको टचस्क्रीन इन्फोटेन्टमेन्ट सिस्टम, १०.२५ इन्चको इन्फर्मेशन डिस्प्ले, ८ स्पीकर, अटोमेटिक क्लाइमेट कन्ट्रोल, वायरलेस एन्ड्रोइड अटो, स्टेयरिङ माउन्टेड कन्ट्रोल, किलेस इन्ट्री जस्ता फिचर पाउन सकिन्छ ।
यसमा आइआरए डट ईभी कनेक्टेड कार सुइट दिइएको छ । यसमा ७० भन्दा बढी स्मार्ट कनेक्टेड फिचर छन् । फाइभ जी कनेक्टीभिटी उपलब्ध कारमा वायरलेस चार्जिङ, १५ वटा मल्टिमिडिया पाउन सकिन्छ ।
टाटाले सुरक्षा फिचरमा पनि सम्झौता गरेको छैन । कम्पनीले ६ एयरब्याग, इलेक्ट्रोनिक्स स्टेबिलिटी प्रोग्राम भित्र १९ फिचर राखेको छ । सबै चक्कामा डिस ब्रेक प्रयोग भएको एसयूभीमा रियर पार्किङ सेन्सर, डाइनामिक गाइड लाइन सहितको रियर क्यामेरा पनि बेस भेरियन्टमै पाउन सकिन्छ ।


