काठमाडौं । डोङफेङको प्रिमियम अफरोड इलेक्ट्रीक एसयूभी ब्राण्ड एम हिरोको नयाँ एसयूभी नेपालमा सार्वजनिक भएको छ ।
नेपालका लागि डोङफेङको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले आजदेखि सुरू भएको नाडा अटो शो २०२६ मा एम हिरो-१ प्रदर्शन गरेको हो ।

विद्युतीय एसयूभी बजारमा निकै शक्तिशाली र विलासी मोडल एम हिरो-१ इलेक्ट्रीक हमर र मर्सिडिज बेन्ज जी क्लासलाई चुनौती दिने गरी तयार पारिएको मोडल हो । यसको मुख्य विशेषता भनेकै अफरोड क्षमता, पावर र विलासी सारसज्जा हो ।
एम हिरो-१ मा चारवटा विद्युतीय मोटर प्रयोग गरिएको छ । यी मोटरको संयुक्त पावर ८०० किलोवाट (१०८८ एचपी) र पीकटर्क १४०० न्यूटन मिटर छ । करिब ३.५ टन तौल भएको यो एसयूभीले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको स्पीड केवल ४.२ सेकेण्डमा भेट्टाउने जनाइएको छ ।
डोङफेङले एम हिरो-१ मा १४२.७ किलोवाट आवर क्षमताको ब्याट्री दिएको छ । उक्त ब्याट्रीले फुल चार्जमा ४५० किलोमिटर यात्रा गर्न सकिने डब्लूएलटीपीको परीक्षणले देखाएको छ ।
अफरोड केन्द्रित भेहिकल भएको कारण यसको पर्फमेन्स उच्च छ । एयर सस्पेन्स भएको एसयूभीको ग्राउण्ड क्लियरेन्स २४० एमएम छ । यसलाई आवश्यकता अनुसार ३३० एमएमसम्म बनाउन सकिन्छ । ९०० एमएम गहिरो पानीमा पनि यसलाई आरामसँग चलाउन सकिन्छ ।
डोङफेङले यसलाई जस्तोसुकै कठिन स्थानमा चलाउन सकियोस् भनेर ड्राइभ मोडमा पनि बालुवा, चट्टान, हिलो र पानीका लागि छुट्टाछुट्टै अफरोड मोड उपलब्ध गराएको छ ।
ड्यासबोर्डमा ठूलो स्क्रीन, डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, ठूलो र गोलो थ्री स्पोक स्टेयरिङ ह्वील दिएको छ । यसमा कम्पनीले ढोका खोल्ने ह्याण्डलहरू पेस्तोल आकारमा दिएको छ ।
नाडा अटो शोमा प्रदर्शनी गरिएको यो अफरोड एसयूभी सन् २०२७ को सुरूदेखि बिक्री थाल्ने कम्पनीले जनाएको छ ।



