पन्च बन्यो भारतमा सर्वाधिक बिक्ने कार

काठमाडौं । टाटा मोटर्सको कम्प्याक्ट एसयूभी पन्च भारतमा सर्वाधिक बिक्री हुने कार बनेको छ । सन् २०२६ को अगष्ट (१ महिना)म २१ हजार युनिट बढी बिक्री हुँदै पन्च सबैभन्दा धेरै बिकेको कारको पहिलो स्थानमा आएको हो ।

टाटा पन्चले मारुती सुजुकी वागेन आरलाई उछिन्दै शीर्ष स्थान ओगटेको हो । सार्वजनिक तथ्यांक अनुसार भारतमा अगष्टमा कुल ४ लाख २ हजार ३९८ युनिट प्यासेन्जर कार बिक्री भएको छ । सोमध्ये पन्च एसयूभी मात्रै २१ हजार ३२० युनिट बिकेको छ । यो ईभी र आइस दुवै मोडलको कुल संख्या हो ।

अघिल्लो वर्षको अगष्टको तुलनामा यस वर्ष पन्चको बिक्री झण्डै दोब्बर अर्थात् ९९ प्रतिशतले बढेको छ । सन् २०२५ मा कुल १० हजार ७०४ युनिट पन्च बिक्री भएको थियो ।

टाटा मोटर्सले पन्च ईभी र आइस दुवै मोडलको फेसलिफ्ट मोडल ल्याएसँगै बिक्रीमा रफ्तार समातेको हो । नयाँ आकर्षक डिजाइन, आधुनिक फिचर र सुविधा थपिएर आएसँगै पन्च एसयूभी भारतीयको पहिलो रोजाइ बनेको हो । उच्च मागकै कारणमा भारतमा पन्चको वेटिङ पिरियड हप्तौं पुगेको छ ।

पन्च ईभी नेपालमा पनि सदावहार मोडलको रुपमा चिनिन्छ । नेपाल आएदेखि नै यसले सकारात्मक प्रतिक्रिया पाइरहेको छ । सिप्रदीले गत साउनमा फेसलिफ्ट मोडल लन्च गरेसँगै आकर्षण झन बढेको छ ।

भारतीय बजारमा अगष्टमा धेरै बिक्री हुनेमा सुजुकी वागेन आर ह्याचब्याक रहेको छ । १ महिनामा २० हजार १८० युनिट वागेन आर बिकेको छ ।

त्यसैगरी, अगष्टमा सबैभन्दा धेरै बिक्री हुने कारहरुमा सुजुकी स्वीफ्ट १९ हजार ८३२ युनिट, फ्रंक्स १८ हजार ७३० युनिट, एर्टिगा १८ हजार ५१६ युनिट, टाटा नेक्सन १८ हजार ४३१ युनिट, सुजुकी डिजायर १८ हजार ४१८ युनिट, हुन्डाई क्रेटा १६ हजार २८८ युनिट, सुजुकी बलेनो १५ हजार ७४६ र महिन्द्रा स्पकर्पियो १५ हजार ५७६ युनिटसहित क्रमशः शीर्ष १० मा रहेका छन् ।


Back_to_top