अउडीको सबैभन्दा सानो ईभी ‘ए २ ई-ट्रोन’, रेन्ज भने निकै धेरै

काठमाडौं । जर्मन लक्जरी कार निर्माता अडीले आफ्नो अहिलेसम्मकै सबैभन्दा सानो विद्युतीय कार ‘ए २ ई-ट्रोन’ सार्वजनिक गरेको छ । ब्राण्डकै सबैभन्दा सानो ईभी भएपनि यसले सिंगल चार्जमा ६४६ किलोमिटरसम्म रेन्ज दिने डब्लूएलटीपी टेस्टले देखाएको हो ।

नयाँ ए२ ई-ट्रोन फक्सवागन समूहको एमईबी प्लेटफर्ममा बनेको मोडल हो । यही प्लेटफर्ममा फक्सवागन आईडी-३, स्कोडा एलरोक र अउडी क्यू४ ई-ट्रोनजस्ता मोडल निर्माण भइसकेका छन् ।

अउडीले ए २ ई-ट्रोनलाई चार फरक मोटर र तीन ब्याट्री विकल्पमा उपलब्ध गराउने घोषणा गरेको छ । यसमा ५२, ६१ र ८४ किलोवाट आवर क्षमताको ब्याट्री प्याक रहनेछ । सबैभन्दा ठूलो ब्याट्रीले सिंगल चार्जमा ६४६ किलोमिटर रेन्ज दिनेछ ।

साना दुई ब्याट्रीमा एलएफपी हो । ठूलो ८४ किलोवाट आवर ब्याट्री भने एनएमसी हो । एनएमसी भएकै कारण यसको ऊर्जा घनत्व धेरै हुन्छ ।

ठूलो ब्याट्रीले १८३ किलोवाटसम्म डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ । यसलाई १० देखि ८० प्रतिशत चार्ज गर्न २९ मिनेट लाग्ने कम्पनीको दाबी छ ।

एरोडाइनामिक दक्षतालाई प्राथमिकता दिएर डिजाइन गरिएको ए २ ई-ट्रोनको ड्र्याग को-इफिसियन्ट केवल ०.२४ सीडी रहेको छ । कम्पनीले यसलाई अहिलेसम्मकै सबैभन्दा ऊर्जा दक्ष अउडी भनेको छ ।

इन्टेरियरमा १२.८ इन्च टचस्क्रीन, ११.९ इन्च ड्राइभर डिस्प्ले, रिसाइकल्ड फेब्रिक र वैकल्पिक हेड-अप डिस्प्लेजस्ता फिचर उपलब्ध छन् ।

जर्मनीको इन्गोलस्टाट प्लाण्टमा उत्पादन हुने ए २ ई-ट्रोनको सुरूआती मूल्य ३८ हजार २०० युरो हुनेछ । यसलाई विस्तारै अन्तर्राष्ट्रिय बजारमा लाने कम्पनीले जनाएको छ ।


Back_to_top