काठमाडौं । सन् २०२६ को जनवरीदेखि अगस्टसम्म चीनको यात्रुवाहक कार बजारमा जिली ईएक्स-२ (नेपालमा बिक्री हुने प्रोटोन इमास फाइभ) सबैभन्दा धेरै बिक्री हुने मोडल बनेको छ । चाइना एशोसिएसन अफ अटोमोबाइल डिलरर्सले सार्वजनिक गरेको तथ्यांक अनुसार आठ महिनाको अवधिमा इएक्स २ मोडल २ लाख ६६ हजार ११६ युनिट बिक्री भएको हो ।
दोस्रो स्थानमा रहेको टेस्ला मोडल वाईको बिक्री २ लाख २६ हजार ९३१ युनिट भयो । त्यस्तै, ली अटोको आई सिक्स १ लाख ५२ हजार ८४२ युनिट बिक्रीसहित तेस्रो स्थानमा रहन सफल भएको छ ।
चीनमा विद्युतीय सवारीको बढ्दो लोकप्रियता शीर्ष बिक्री सूचीमा पनि स्पष्ट देखिएको छ । शीर्ष २० धेरै बिक्री भएका मोडलमध्ये ९ वटा शुद्ध ब्याट्री इलेक्ट्रिक भेहिकल छन् । जिली इएक्स २, टेल माडल वाई, ली अटो आई सिक्स, साओमी वाइयू-७, चांगान नेभो क्यू-०५ र नियो इएस ८ प्योर ईभीको रूपमा बिक्री हुने मोडल हो । यस बाहेक केही प्लगइन हाइब्रिड मोडल पनि धेरै बिक्री हुनेमा परेका छन् ।
ग्लोबल ईभी लिडर बीवाइडीको बिक्री चीनको बजारमा घटेको छ । जुन उसको बिक्रीले पनि देखाउँछ । कम्पनीले निर्यातमा ठूलो सफलता पाउँदा स्थानीय बजारको बिक्रीमा भने धक्का लागेको हो । चौथो स्थानमा रहेको बीवाइडीकै फाङचाङ बाओ टीआई-७ को बिक्री १ लाख ३८ हजार २०८ युनिट पुगेको छ। यसमध्ये १ लाख १० हजार ३६ प्लगइन हाइब्रिड र २८ हजार १७२ ब्याट्री इलेक्ट्रीक भेहिकल हुन् ।
पाँचौं स्थानमा परेको जिली बायुएल १ लाख ३८ हजार ४४ युनिट बिक्री भएको छ । साओमी वाइयू-७ मोडल १ लाख २८ हजार ४१७ युनिटसहित छैटौं र फक्सवागेन लाभिडा १ मोडल १ लाख २७ हजार ६७३ युनिटसहित सातौं स्थानमा छन् । बीवाइडी एटो टुले १ लाख २५ हजार ९०३ युनिट बिक्री गर्दै आठौं स्थान हासिल गरेको हो ।
शीर्ष १० मा लीपमोटर ए१० (नेपालमा बी-०३ एक्स) परेको छ । कम्पनीले १ लाख २२ हजार ५८७ युनिटसहित नवौं धेरै बिक्री हुने मोडल बनाएको हो । साओमीको एसयू ७ मोडल १ लाख १८ हजार ५८ युनिटसहित दशौं स्थानमा छन्।
यस तथ्यांकले चीनमा परम्परागत पेट्रोलियम कारसँगै सस्तो तथा नयाँ पुस्ताका विद्युतीय मोडलले बजारमा तीव्र रूपमा स्थान विस्तार गरिरहेको देखाउँछ।


