‘सोलिड स्टेट ब्याट्री’मा पहिलो कार ल्याउँदै बीवाइडी

काठमाडौं । ब्याट्री टेक्नोलोजीमा आफुलाई निकै बलियो बनाएको बीवाइडीले आगामी वर्षबाट सोलिड स्टेट ब्याट्रीको प्रयोग कारमा थाल्ने जनाएको छ । कम्पनीले सन् २०२७ मा सोलिड स्टेट ब्याट्रीमा कार ल्याउने जानकारी दिएको हो ।

बीवाइडीकी कार्यकारी उपाध्यक्ष स्टेला लीले स्पेनको भ्यालेन्सियामा कारवाओसँगको अन्तर्वार्ताका क्रममा यस्तो जानकारी दिएकी हुन् ।

लीका अनुसार बीवाइडीले ब्याट्री प्रविधिको अनुसन्धानमा ठूलो लगानी गरिरहेको छ । कम्पनीले सोलिड स्टेट ब्याट्रीको सेल केमेस्ट्रीसँगै यसको उत्पादन क्षमता र आवश्यक उपकरण विकासमा समेत आफैँ लगानी गरेर काम गरिरहेको छ ।

उनले आगामी वर्ष पहिलो कार आउने बताएपनि नयाँ गाडीको नाम, ब्याट्री क्षमता, ऊर्जा घनत्व, रेन्ज वा मूल्यबारे कुनै जानकारी दिएकी छैनन् । त्यसैले उनको यो घोषणा तत्कालै ठूलो परिमाणमा कार उत्पादन थाल्नेभन्दा नयाँ टेक्नोलोजी देखाउने तिर केन्द्रित हुने अनुमान गर्न सकिन्छ ।

बीवाइडीको ब्याट्री उत्पादन गर्ने कम्पनी फिनड्रीम्सले सल्फाइडमा आधारित सोलिड इलेक्ट्रोलाइट प्रविधिको ब्याट्री ल्याउने छ । कम्पनीले यसअघि २० र ६० एम्पियर अवर क्षमताका सेलहरु विकास गरेर परीक्षण गरेको थियो । उक्त सेलमा ऊर्जा घनत्व करिब ४०० वाट आवर प्रतिकिलोग्राम पुग्ने लक्ष्य लिइएको थियो ।

तर, प्रयोगशालाबाट व्यावसायिक उत्पादनमा जाँदा ठोस–ठोस सतहबीचको सम्पर्क, तापक्रम, कम्पन, आद्र्रता नियन्त्रण र उत्पादन प्रक्रियाजस्ता चुनौती रहेको कम्पनीले जानकारी दिएको थियो ।

बीवाइडीले सन् २०२७ मा करिब १ हजार गाडीमा परीक्षण गर्ने र सन् २०३० आसपास ठूलो परिमाणमा उत्पादन गर्ने दीर्घकालीन योजना अगाडि सारेको छ । सम्भवत कम्पनीले सुरुवाती प्रयोग महँगा याङवाङ र डेन्जाजस्ता मोडल गर्ने अनुमान छ ।


Back_to_top