काठमाडौं । सीजी मोटर्सले यही भदौ २६ गते चितिवनको भरतपुरमा आयोन वाई ईभीमा भएको आगालागी बारे केही मिडिया र सामाजिक सञ्जालमा आएका प्रतिक्रिया बारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
कम्पनीले एक विज्ञप्ति जारी गर्दै सम्बन्धित आधिकारिक निकायहरूबाट अनुसन्धान भइरहेको र निष्कर्ष आउनुअघि नै अपुष्ट सूचना, अनुमान वा एकपक्षीय दाबीका आधारमा केही दुर्घटनालाई अतिरञ्जित गरिएको भन्दै आपत्ति जनाएको हो ।
साथै कम्पनीले यस्तो गैर कानुनी कार्यका संलग्न नहुन सबैमा अनुरोध समेत गरेको छ । ‘आधिकारिक निकायहरूबाट भइरहेको अनुसन्धानको निष्कर्ष आउनुअघि अपुष्ट सूचना, अनुमान वा एकपक्षीय दावीका आधारमा केही सामाजिक सञ्जाल प्रयोगकर्ता र कतिपय मिडियाहरूमा समेत यस दुर्घटनालाई अतिरञ्जित रुपमा प्रस्तुत गर्ने, नियतबश कसैलाई दोषी करार गर्ने र समाजमा उत्तेजना फैलाउने कोसिस भइरहेको पनि हामीले अनुभव गरेका छौँ । यस्तो कार्य पूर्णतः गैर कानूनी क्रियाकलाप मानिने हुँदा यस्ता कार्यमा संलग्न नभइदिनुहुन हामी हार्दिक अनुरोध गर्दछौँ,’ सीजी मोटर्सले भनेको छ ।
हाल उक्त दुर्घटना सम्बन्धमा नेपाल प्रहरी र सरकारका सम्बन्धित निकायहरूबाट अनुसन्धान भइरहेको छ । उक्त अनुसन्धानमा पूर्ण रुपमा सहयोग गर्ने कम्पनीले जनाएको छ ।
आयोन वाई उत्पादक कम्पनीले पनि उक्त गाडीको परीक्षण, अनुसन्धान गरि अनुसन्धानको रिपोर्ट सार्वजनिक गर्ने सीजी मोटर्सले जनाएको छ । ‘यस प्रकारका दुर्घटनाहरूको अनुसन्धान गर्ने विश्वव्यापी प्रोटोकल अनुसार अनुसन्धान भई सत्यतथ्य बाहिर आउनेछ भन्नेमा हामीले विश्वस्त हुनु पर्दछ । यस घटनाको वास्तविक कारण पत्ता लगाउन हुने निष्पक्ष, प्राविधिक तथा वैज्ञानिक अनुसन्धानमा हामीले पूर्ण सहयोग गर्नेछौँ,’ कम्पनीले भनेको छ ।
कम्पनीले उक्त कार आगलागीमा परि ज्यान गुमाएका अमर पराजुलीप्रति भावपूर्ण श्रद्धाणजली व्यक्त गर्दै उनको आत्माको चिर शान्तिको कामना गरेको छ ।


