८ हजार साइकल चल्ने सीएटीएलको नयाँ ब्याट्री, केमा गर्दैछ प्रयोग ?

काठमाडौं । विश्वकै ठूलो ब्याट्री निर्माता सीएटीएलले आफ्नो सबैभन्दा ठूलो ‘५८७ एएच’ क्षमताको एलएफपी ब्याट्री सेल बिक्री थालेको छ । कम्पनीले यो ब्याट्री सेललाई अनलाइन मार्फत बिक्रीमा ल्याएको हो ।

कम्पनीले यसलाई आफ्नै अनलाइन प्लेटफर्म ‘सीएटीएल मल’मार्फत बिक्री थालेसँगै साना तथा मध्यम स्तरका ऊर्जा भण्डारण प्रणालीको क्षेत्रमा काम गर्नेहरुले फाइदा उठाउने भएका हुन् । कम्पनीले यो ब्याट्री कारको लागि नभएर ऊर्जा भण्डारणको लागि बनाएको हो ।

सीएटीएलले यसको मूल्य प्रतिकिलोवाट आवर ४३५ युआन तोकेको छ । यसमा एक सेलको क्षमता १.८८ किलोवाट आवर छ । यसको ऊर्जा घनत्व ३७९ वाट आवर छ । कुल १०.६ किलोग्राम तौल हुने यो सेलले ८ हजार साइकल उत्कृष्ट काम गर्ने कम्पनीको दाबी छ ।

‘५८७ एएच’ सेल ०.५ सी चार्ज तथा डिस्चार्ज दरमा मात्र संचालन हुने भएकाले विद्युतीय कार जस्तो उच्च शक्तिको प्रयोगका लागि सम्भव नहुने कम्पनीको भनाइ छ । यसअघि सीएटीएल मलमा २८० एएच र ३१४ एएचका एलएफपी सेल बिक्री हुँदै आएका थिए ।

क्याटलले पाँच वर्षको वारेन्टीसहित अतिरिक्त शुल्क नलाग्ने र अर्डर भएको ३ देखि ५ दिनभित्र सामान पठाउने जनाएको छ । तर, प्रत्यक्ष खरिदका लागि चिनियाँ व्यवसायिक इजाजतपत्र आवश्यक पर्ने भएकाले अन्तर्राष्ट्रिय ग्राहकले सिधै खरिद गर्न पाउने छैनन् । तर, स्थानीय डिलर वा त्यसका सहायक कम्पनीमार्फत भने खरिद गर्न सक्ने कम्पनीको भनाइ छ ।


Back_to_top