काठमाडौं । अब यातायात व्यवस्था कार्यालयहरूले सवोग्राहीले सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)का लागि दिएको आवेदन २४ घण्टा भित्र स्वीकृत गरिसक्नु पर्ने भएको छ ।
यातायात व्यवस्था विभागले ‘विद्युतीय माध्यमबाट सवारी चालक अनुमति पत्रसम्बन्धी सेवा प्रवाह गर्ने निर्देशिका, २०८३’ जारी गर्दै यस्तो व्यवस्था गरेकोे हो ।
निर्देशिका अनुसार नयाँ आवेदन, वर्ग थप, प्रतिलिपि र नवीकरणका लागि आनलाइन मार्फत आएका निवदेनहरू कार्यालयबाट सामान्यतया ४८ घण्टाभित्र स्वीकृत गर्नुपर्नेछ ।
यदि, अस्वीकृत गर्नुपर्ने भएमा कारणसहित आवेदकलाई जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ ।
त्यस्तै, कार्यालयहरूले लाइसेन्सको लिखित तथा प्रयोगात्मक परीक्षाको सम्भावित मिति, स्थान र क्षमता १५ दिन अगावै प्रणालीमा उपलब्ध गराउनु पर्ने निर्देशिकामा उल्लेख छ ।
परीक्षाको नतिजा प्रणालीमा ४८ घण्टा भित्र प्रविष्ट गर्ने, सो समयमा प्रविष्ट गर्न नसकेमा स्थलगत मुचुल्का र कार्यालयको निर्णय सहित प्रदेश मन्त्रालयलाई जानकारी गराउनु पर्नेछ ।
छपाई भएका लाइसेन्स कार्डहरू नियम अनुसार वितरण गर्ने र सेवाग्राहीले माग गरेको ठेगानामा पठाउनुपर्ने भएमा आवश्यक शुल्क लिई सेवाग्राहीको ठेगानामा पठाउने व्यवस्था मिलाउनुपर्नेछ ।
सवारी चालक अनुमतिपत्र सम्बन्धी सेवा प्रवाहलाई थप सरल, छिटो, पारदर्शी, सुरक्षित तथा सेवाग्राहीमैत्री बनाई सवारी चालक अनुमतिपत्र सम्बन्धी सेवाहरूलाई विद्युतीय प्रणालीमार्फत संचालन गर्न नयाँ निर्देशिका जारी गरिएको विभागले जनाएको छ ।
विपद, आकस्मिक प्राविधिक समस्या वा अन्य विशेष परिस्थिति परी परिक्षा संचालन हुन नसक्ने अवस्थामा कार्यालयहरूले परीक्षाको पुनः तालिकिकरण गर्नुपर्ने छ ।

