काठमाडौं । बीपी राजमार्गको काभ्रे खण्डमा असोज ८ गतेदेखि ११ गतेसम्म रातिमा सवारी साधन संचालनमा रोक लागाइएको छ ।
मनसुन प्रतिकार्य कमाण्ड पोष्ट काभ्रेपलाञ्चोकको बैठकले सम्भावित बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाउने निर्णय गरेको हो ।
साथै, सम्भावित जोखिमको अवस्था हेरी आवश्यक परे दिनको समयमा समेत सवारी संचालनमा रोक लगाउन सकिने निर्णय गरिएको छ ।
राजमार्गमा सवारी आवागमन रोक्ने निर्णय कार्यान्वयनमा सहजीकरणका लागि सिन्धुली र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई समेत अनुरोध गर्ने निर्णय भएको छ ।
त्यस्तै, भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै बीपी राजमार्गको निर्माणाधीन ट्रयाकको काम समेत केही दिन स्थगित गरिएको छ ।
सम्भावित वर्षा, पहिरो तथा सडकमा आउन सक्ने चुनौतीलाई मध्यनजर गर्दै निर्माण कार्य केही दिन स्थगित गर्ने तयारी गरिएको हो। यसबाट सडकमा हुने सम्भावित जोखिम न्यूनीकरण गर्दै यातायात सञ्चालनलाई सुरक्षित र सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
अघिल्ला दुई वर्ष असोजमा आएको बाढीपहिरोले बीपी राजमार्गको ३० किमी सडकमा क्षति पुर्याएको थियो । अहिले उक्त सडक विभिन्न ४ प्याकेजमा ठेक्का लगाई पुनर्निर्माण भइरहेको छ ।

