बैंकहरूले दिन थाले ५% भन्दा कममै अटो लोन, कुनले कतिमा ?

काठमाडौं । के तपाईं बैंकबाट ऋण लिएर सवारी किन्ने योजनामा हुनुहुन्छ ? यदि, हुनुहुन्छ भने अहिले तपाईंका लागि ब्याजदरका हिसाबले इतिहासकै उत्कृष्ट अवसर छ भन्दा फरक पर्दैन ।

किनभने, अहिले बैंकहरूको बेसरेट इतिहासकै सस्तो अर्थात् औसतमा ४.७५ प्रतिशतमा झरेको छ । बैंकहरूले बेसरेटमा न्यूनतम ०.५ देखि १ प्रतिशत प्रिमियम जोडेर कर्जा दिन थालेका छन् । जसकारण सजिलै ५/५.५ प्रतिशत ब्याजदरमा अटो कर्जा पाउने अवस्था छ ।

नेपाल राष्ट्र बैंकले वि.सं. २०६८ फागुनदेखि आधिकारिक रूपमा कर्जाको मासिक औसत ब्याजदर सार्वजनिक गर्न थालेको थियो । त्यसलाई आधार मान्दा अहिले बैंकको ब्याजदर इतिहासकै भएको हो । जबकि, ३/४ वर्ष अघि कर्जाको ब्याजदर १३/१४ प्रतिशतसम्म पुगेको थियो । त्यसलाई आधार मान्दा अहिले आधाभन्दा सस्तो ब्याजमा कर्जा पाइन्छ ।

बेसरेट घटेपछि बैंकहरू बीच सस्तो ब्याजदरमा कर्जा दिने प्रतिस्पर्धा चलेको छ । एकातिर बैंकमा पैसा थुप्रिएर बसेको र अर्कोतर्फ चाडपर्व नजिकिएकाले नयाँ सवारीको खरिदबिक्री बढ्दो क्रममा छ । साथै, गत नाइमा मोबिलिटी एक्स्पो र नाडा अटो शोमा गाडी बुकिङ गरेकाहरूले डेलिभरी पाउन थालेसँगै अटो कर्जाको माग बढ्न थालेको छ । अटो कर्जा ७ वर्षसम्मका लागि प्रवाह हुने भएकाले बैंकहरूले दीर्घकालीन लगानीलाई समेत ध्यानमा राख्दै सस्तै ब्याजदरमा लगानी गर्न तयार छन् ।

बैंकहरूले स्थिर ब्याजदरमा ऋण लिन चाहने ग्राहकलाई पनि सस्तै ब्याजदरमा अटो कर्जा उपलब्ध गराइरहेका छन् । बैंकहरूले अहिले ६.५ प्रतिशतदेखि ९ प्रतिशतसम्मको स्थिर ब्याजदरमा अटो कर्जा दिइरहेका छन् ।

ब्याजदर जति कम भयो, ऋणीलाई उति नै फाइदा हुन्छ । सस्तो ब्याजमा ऋण लिएर गाडी किन्दा लागत समेत कम पर्न जान्छ । मासिक तिर्नुपर्ने ब्याजखर्च कम हुन्छ ।

कुन बैंकले कतिमा दिन्छन् ऋण ?

कुन बैंकबाट सस्तोमा ऋण पाइन्छ भन्ने कुरा बैंकहरूको बेसरेटमा भर पर्दछ । तुलनात्मक रूपमा कम बेसरेट भएका बैंकबाट कम ब्याजदरमा ऋण पाइन्छ भने बेसरेट धेरै भएका बैंकबाट लिँदा केही महँगो पर्छ । बैंकहरूले बेसरेटमा अधिकतम ५ प्रतिशत र न्यूनतम ०.५ प्रतिशत प्रिमियममै ऋण दिन्छन् । सो अनुसार प्रायः सबै बैंकबाट ५/६ प्रतिशत हाराहारीमै ऋण पाइने अवस्था छ ।

सरकारी स्वामित्वको नेपाल र राष्ट्रिय वाणिज्य बैैंकले ५ प्रतिशतभन्दा कम ब्याजदरको अटो लोन स्कीम नै ल्याएका छन् । नेपाल बैंकले विशेष चाडपर्व अफर अन्तर्गत ४.९० प्रतिशतमा कर्जा दिने भएको छ । साथै, बैंकले बेसरेटमा ०.४९ प्रतिशत मात्रै प्रिमियम जोडेर ऋण लिने विकल्प पनि दिएको छ । हाल बैंकको बेसरेट ४.४१ प्रतिशत छ । यसमा ०.४९ प्रतिशत प्रिमियम जोड्दा पनि ४.९० प्रतिशतमै ऋण पाइन्छ । बैंकले ५ वर्ष अवधिका लागि कर्जा दिने भएको हो ।

बैंकका अनुसार यसरी गाडी किन्न कर्जा लिँदा ०.५ प्रतिशत मात्रै प्रशासनिक शुल्क लाग्ने छ । साथै, कर्जा उपभोग गर्ने ग्राहकले विना कुनै शुल्क ३ लाखसम्मको क्रेडिट कार्ड (लाइफटाइम)को सुविधा बैंकले जनाएको छ ।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले चाडपर्वलाई लक्षित गर्दै ४.९० प्रतिशतमै अटो कर्जा स्कीम ल्याएको छ । बैंकले सीमित अवधिको लागि ल्याएको यो योजनामा अधिकतम ७ वर्षसम्मका लागि १ करोड रुपैयाँसम्म कर्जा दिने जनाएको छ । यसमा प्रोसेसिङ फी कर्जा सीमाको ०.५ प्रतिशत मात्र लागने बैंकले जनाएको छ । यसको बेसरेट पनि सबैभन्दा सस्तो छ । पछिल्लो तीन महिनाको अ‍ैसत बेसरेट ४.०१ प्रतिशत मात्रै छ ।

नबिलले पनि सस्तो ब्याजदरको कर्जा योजना ल्याएको छ । नबिलले सवारी किन्न चाहानेलाई ५.१७ प्रतिशत ब्याजदरमै कर्जा दिने भएको हो । बैंकले ७ वर्षसम्मका लागि गाडीको मूल्यको ६० प्रतिशतसम्म कर्जा दिने भएको छ । अटो कर्जामा सेवा शुल्क ०.५० प्रतिशत लाग्ने नबिलले जनाएको छ ।

यी बाहेक अरु बैंकहरूले पनि ६ प्रतिशतभन्दा कममै अटो कर्जा दिन्छन् । केहीले ६ प्रतिभन्दा कम ब्याजदरको अटो लोन योजना ल्याएका छन् भने केहीले न्यूनतम प्रिमियमका कर्जा उपलब्ध गराउँछन् ।

हाल एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट मेगा, ग्लोबल आइएमई, कृषि विकास, सानिमा, माछापुच्छ्रे, सिद्धार्थ, प्राइम, प्रभु र लक्ष्मी सनराइजको बेसरेट ५ प्रतिशभन्दा कम छ । बार्गेनिङ गर्न सक्ने ग्राहकले यी बैंकबाट न्यूनतम ०.५ प्रतिशत प्रिमियम अर्थात् ५.५ प्रतिशत हाराहारीमै कर्जा पाउने अवस्था छ ।

त्यस्तै, सिटिजन्स, नेपाल एसबीआई र हिमालयनको बेसरेट ५.२५ प्रतिशतभन्दा कम छ । यी बैंकबाट पनि ६ प्रतिशत हाराहारीमै ऋण पाइन्छ । वाणिज्य बैंकमध्ये एनआइसी एशियाको बेसरेट सबैभन्दा महँगो ५.६९ प्रतिशत छ । यसबाट ऋण लिँदा भने तुलनात्मक रुपमा थोरै महँगो पर्ने देखिन्छ ।

कर्जा लिनको लागि के के चाहिन्छ कागजात

बैंकबाट कर्जा लिनका लागि नेपाली नागरिकको उमेर कर्जा प्रवाहका समयमा कम्तीमा १८ वर्ष पुगेको हुनुपर्नेछ । साथै, ऋणको किस्ता र ब्याज तिर्न पुग्ने स्थिर तथा नियमित आम्दानीको स्रोत खुल्ने कागजात चाहिन्छ ।

गाडी कर्जा लिने मानिसको नागरिकता, राष्ट्रिय परिचयपत्र वा राहदानी, पासपोर्ट साइजको फोटो तथा सम्बन्धित स्थानीय तहबाट जारी पारिवारिक विवरण बुझाउनुपर्नेछ । व्यवसायबाट आम्दानी गर्नेले फर्म दर्ता प्रमाणपत्र र प्यानरभ्याट प्रमाणपत्र पनि पेश गर्नुपर्नेछ । कम्पनीको हकमा प्रबन्धपत्र तथा नियमावली, साझेदारी सम्झौता र अन्य कागजात समेत बुझाउनुपर्छ ।

त्यसैगरी, खरिद गर्न लागेको गाडीको मूल्य, मोडल र फिचरसहितको आधिकारिक कोटेसन बनाएर बैंकमा लैजानुपर्छ । आम्दानी प्रमाणित गर्न मासिक तलब पाएको प्रमाण, पछिल्लो ६ महिनाको बैंक स्टेटमेन्ट, नियुक्तिपत्र र परीक्षणकाल पूरा गरेको प्रमाणपत्र पेश गर्नुपर्नेछ ।

घरभाडाबाट आम्दानी हुनेले भाडा सम्झौता, भाडामा बस्ने व्यक्तिको परिचय, कर रसिद तथा सम्पत्तिको विवरण बुझाउनु पर्नेछ ।

व्यवसाय वा फर्मको हकमा लेखापरीक्षण भएको वित्तीय विवरण, अनुमानित वित्तीय विवरण र कर चुक्ता प्रमाणपत्र वा आम्दानीसम्बन्धी रसिद पेश गर्नुपर्नेछ । २५ लाख रुपैयाँ वा सोभन्दा बढी कर्जा लिनेले प्यान नम्बरसमेत अनिवार्य रूपमा बुझाउनु पर्नेछ ।


Back_to_top