काठमाडौं । सरकारले पेट्रोलियम पद्धार्थको मूल्य यथावत राखे यातायात व्यवसायीले चाडवाडको बेला सार्वजनिक सवारीको भाडा नबढाउने प्रतिबद्धता जनाएका छन् ।
सोमबार प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
उनले पेट्रोलियम पदार्थको हालको मूल्य यथावत रहेसम्म अहिलेकै भाडादर लागू हुने बताए ।नर्मल, डिलक्स, सुपर डिलक्समा सरकारले तोकेको भाडादर कार्यान्वयन गर्न व्यवसायी प्रतिबद्ध रहेको उनले बताए ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढे पनि सरकारले नागरिकको हितका लागि घाटा सहेर भए पनि मूल्य स्थिर राख्नुपर्ने उनको भनाइ छ ।
‘पेट्रोलियम पदार्थको मूल्य यथावत रहेसम्म हाल कायम रहेको भाडादरमै यात्रुलाई सेवा प्रदान गर्छौं,’ उनले भने ।
उनले सडकको दयनीय अवस्थाका कारण यात्रुलाई सुरक्षित गन्तव्यमा पुर्याउन चुनौती रहेको बताए । यद्यपि, सरकारसँग समन्वय गर्दै सेवालाई निरन्तरता दिने उनले बताए ।
उनले अग्रिम टिकट बुकिङलाई निरन्तरता दिइने बताए । तोकिएको बसपार्क र काउन्टरबाट मात्र टिकट काट्ने व्यवस्था मिलाउन सके यात्रु ठगिनबाट जोगिने उनको भनाइ छ ।
चाडपर्वमा अग्रिम बुकिङ गरिएका गाडीहरूलाई अन्य प्रयोजनमा नपठाउन व्यवसायीहरूलाई निर्देशन दिइएको जानकारी गराए ।
उनले चाडपर्वको समयमा सहज आवतजावतको व्यवस्था मिलाउन मालवाहक सवारीसाधनलाई निश्चित समय रोक्न र सडक मर्मतमा तीव्रता दिन सरकारलाई आग्रह गरे ।

