टियागो र एटो वान बीच कडा टक्कर, पछ्याउँदै नामी बक्स

काठमाडौं । नेपालमा ह्याचब्याक कारको हिस्सा क्रमशः खुम्चिँदै गएको देखिन्छ । सस्तो, किफायती र सहरी क्षेत्रका लागि उपयुक्त हुँदा हुँदै पनि ह्याचब्याक कार उपभोक्ताको पहिलो रोजाइमा पर्न छाडेको हो ।

पछिल्लो समय बजारमा ह्याचब्याकै मूल्यमा इन्ट्री लेभल एसयूभीहरू आउन थालेपछि ह्याचब्याक कार ओझेलमा पर्न थालेको देखिन्छ । यद्यपि, तुलनात्मक रूपमा इलेक्ट्रीक ह्याचब्याकको बिक्री राम्रै देखिए पनि पेट्रोल ह्याचब्याकको बिक्री भने निकै कम छ ।

बजारमा करिब १ दर्जन बढी ब्राण्डका इलेक्ट्रीक ह्याचब्याक उपलब्ध छन् । बजारमा ह्याचब्याक ईभीको मूल्य २७ देखि ३५ लाख रुपैयाँ हाराहारी रहेको छ भने ३३ लाख देखि नै एसयूभी किन्न पाइन्छ । यस्तोमा ग्राहकमा ह्याचब्याकभन्दा एसयूभीमै आकर्षित भइरहेको देखिन्छ ।

सन् २०२६ को साढे ८ महिना (जनवरी सेप्टेम्बर १५)सम्म कुल ९ हजार २५१ युनिट विद्युतीय कार आयात भएको छ । सोमध्ये ह्याचब्याक १४५१ युनिट अर्थात् १५.६८ प्रतिशत मात्रै रहेको छ । विगतमा ह्याचब्याकको हिस्सा करिब ३० प्रतिशतसम्म पुगेको थियो ।

टियागो र एटो वान बीच कडा टक्कर

सन् २०२६ को साढे ८ महिनामा कुल १४५१ युनिट इलेक्ट्रीक ह्याचब्याक नेपाल आयात भएको छ । तीमध्ये भारतीय ब्राण्ड टाटाको टियागो ईभी र चिनियाँ ब्राण्ड बीवाइडीको एटो वान बीच कडा प्रतिस्पर्धा देखिएको छ ।

साढे ८ महिनामा टियागो ईभी सेग्मेन्ट लिडर बनेको छ । यस अवधिमा सिप्रदी ट्रेडिङले सबैभन्दा धेरै ५०५ युनिट टियागो ईभी नेपाल भित्र्याएको छ । सिप्रदीले फेसलिफ्ट मोडल ल्याएसँगै टियागो ईभीप्रति आकर्षण बढेको देखिन्छ । टियागो बजारमा पाइन सबैभन्दा सस्तो इलेक्ट्रीक ह्याचब्याक समेत हो । यसको मूल्य २८ लाख ९९ हजार र २९ लाख ९९ हजार रुपैयाँ छ ।

टियागोलाई पछ्याउँदै एटो वान दोस्रो स्थानमा रहेको छ । यही अवधिमा साइमेक्स इंकले ४७१ युनिट एटो वान आयात गरेको छ । टियागोभन्दा एटो वान ३४ युनिट कम आयात भएको छ । यी दुई मोड बीच ठूलो अन्तर नरहेकाले आफ्नो सेग्मेन्टमा कडा टक्कर देखिन्छ । बीवाइडी एटो वानको सुरूआती मूल्य ३० लाख ७५ हजार रुपैयाँ छ ।

टियागो र एटो वानलाई पछ्याउँदै डोङफेङ नामी बक्स तेस्रो स्थानमा रहेको छ । साढे ८ महिनामा एमएडब्लू वृद्धिले २५६ युनिट नामी बक्स भित्र्याएको छ । नामी बक्सको सुरूआती मूल्य ३० लाख ९९ हजार रुपैयाँ छ ।

यी बाहेक अन्य मोडलको आयात भने १०० युनिटको आँकडा पार गर्न सकेको छैन । यद्यपि, नयाँ मोडलको आयात भने बढ्दो क्रममा देखिएको छ ।

चौथो स्थानमा एमजी विन्डसर ईभी रहेको छ । जीओ अटोमोबाइल्सले साढे ८ महिनामा ६७ युनिट विन्डसर ईभी नेपाल ल्याएको छ ।

गत साउनमा मात्रै नेपाल आएको प्रोटोन इमास फाइभ पाँचौं स्थानमा रहेको छ । जगदम्बा मोटर्सले २ महिनामै ६६ युनिट इमास फाइभ आयात गरेको छ ।

त्यस्तै, सीजी मोटर्सले दायुन ईभी ४८ युनिट, लक्ष्मी मोटरहबले आर्कफक्स टी वान २३ युनिट, भीजी इम्पेक्सले ओरा थ्री १४ युनिट आयात गरेको छ ।


Back_to_top