हिमाल र पहाडको सारथी ‘बोलेरो नियो’, किन छ खास ?

काठमाडौं । पछिल्ला दिनमा चिनियाँ ईभीले एकछत्र बजारमा राजगरिरहेको समयमा अलग प्रयोजन जस्तो लाग्ने महिन्द्रा बोलेरो नियो एसयूभीले पृथक पहिचान निर्माण गरिरहेको छ । डिजाइन, सुविधा र प्रविधिभन्दा पहिले खराब सडकमा भरोसा योग्य यात्रा चाहनेले यसलाई किन्दै आएका हुन् ।

ग्रामीण सडक, पहाडी बाटो, कच्ची सडक र वर्षायाममा हिलो तथा खाल्डाखुल्डी धेरै हुने सडकका लागि बोलेरो नियो पर्फेक्ट एसयूभी हो । जुन डिजाइन केन्द्रित होइन, खराब बाटोमा पर्फमेन्स केन्द्रित मोडल हो ।

बोलेरो नियोको बाहिरी रूप आधुनिक देखिए पनि यसको मूल चरित्र भने परम्परागत ‘रफ एन्ड टफ’ महिन्द्रा एसयूभीकै छ । यसमा १.५ लिटर एमहक १०० डिजेल इन्जिन दिइएको छ । जसले १०० पीएस पावर प्रदान गर्छ । यसको पीकटर्क भने २६० न्यूटन मिटर छ ।

उक्त इन्जिनसँग फाइभ स्पीड गियर बक्स छ । म्यानुअल गियरबक्स र रियर ह्वील ड्राइभ सिस्टम भएको डिजेल एसयूभी यसको प्रमुख विशेषता हो । इन्जिन कै कारण यसलाई आकर्षक एसयूभी भनिएको होइन ।

यसको अधिकतम टर्क १७५० देखि २२५० आरपीएममा नै उपलब्ध हुने भएकाले उकालो, यात्रुसहितको ड्राइभ र कम गतिमा खराब सडक पार गर्दा निकै उपयोगी हुने कम्पनीको दावी छ । यसले नै के प्रस्ट हुन्छ भने बोलेरो नियोको हाइवेमा तिब्र गतिमा दौडनभन्दा खराब र उकालो बाटोका लागि उपयुक्त मानिन्छ ।

अर्को, यसको मुख्य आकर्षण ‘मेकिङ’ हो । ‘बडी-अन-फ्रेम’ संरचनामा आधारित बोलेरो नियोमा कम्पनीले स्कर्पियोमा दिएको तेस्रो पुस्ताको चेसिस प्रयोग गरेको छ ।

चेसिसकै कारण बोलेरो नियोलाई सामान्य सहरी क्रसओभरभन्दा फरक बनाएको छ । खराब सडकमा यसको चेसिसले बहन गर्न सक्ने क्षमता, रियर ह्वील ड्राइभ र बलियो सस्पेन्सन यसको मुख्य आकर्षण हो ।

बोलेरो नियोको अर्को महत्वपूर्ण पक्ष मल्टी-टेरेन टेक्नोलोजी (एमटीटी) हो । यसको टप भेरियन्टमा ‘डिफरेन्सियल लक’ दिइएको छ । यसको सहायताले खराबभन्दा खराब बाटाहरुमा पनि एसयूभीको पर्फमेन्स उत्कृष्ट रहन्छ ।

यसको अर्थ बोलेरो नियो फोर ह्वील ड्राइभ एसयूभी भने होइन । यो रियर ह्विल ड्राइभ एसयूभी हो । तर यसको मेकानिकल ट्र्याक्सन प्रणालीले चिप्लो वा असमान सतहमा उत्कृष्ट पर्फमेन्स दिन्छ ।

बोलेरो नियो ७ सिट क्षमताको एसयूभी हो । पारिवारिक प्रयोगसँगै धेरै यात्रु बोकेर ग्रामीण तथा पहाडी क्षेत्रमा यात्रा गर्न चाहने ग्राहकको राजाइमा यो पर्छ ।

अग्नी इनकर्पोरेट प्रालिले नेपालमा बिक्री गर्दै आएको बोलेरो नियोको एन-८ भेरियन्टको मूल्य ५३ लाख रुपैयाँ रहेको छ ।


Back_to_top